नारायणपुर । २०६१ साल माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो । ती दलसँग आन्दोलनको विकल्प थिएन । आन्दोलनलाई चर्काउने योजनाअनुसार काम अघि बढ्न थाल्यो । माघ २६ गते घोषित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भैरहेको थियो ।

खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ला हो दाङ । त्यसकारण पनि आन्दोलनमा अन्य दलको समेत सहभागिता थियो । आन्दोलनमा सर्वसाधारणको यति धेरै सहभागिता थियो कि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले त्यसलाई थाम्न सक्नु त धेरै परको कुरा त्यसलाई राम्रोसँग हेर्न पनि नसक्ने अवस्थामा थिए । त्यो दिन घोराहीमा जनसागर उर्लिएको थियो । जब आन्दोलनको नेतृत्व गर्दै नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापा अहिलेको शहीद मार्ग हुँदै अगाडि बढिरहेका थिए, यही जुलुशमाथि तत्कालीन शाही सेनाले गोली वर्षायो र एमालेका जिल्ला परिषद् थापाले शहादत प्राप्त गरे । जनआन्दोलन २०६२–६३ को पहिले शहीद हुन्, उमेशचन्द्र ।

त्यस घटनामा घाइते कृष्ण गिरीले उनलाई सम्झिए, ‘शाही सेनाले गोली चलाउनुपर्ने अवस्था थिएन । आन्दोलन निक्कै शान्तिपूर्ण थियो । अहिलेको रेडियो मध्यपश्चिम अगाडि त्यो समय झाङहरु थिए ।’ गिरी भन्छन्, ‘माथि ब्यारेकबाट आएको सेनाले एक्कासी गोली चलायो । मेरो एउटा पैतालामा, एउटा कोखामा र एउटा अर्को खुट्टामा गोली लागेपछि म ढले । उता उमेश पनि ढल्नुभयो । उमेश घटनास्थलमै शहादत हुनुभएको हो । त्यसको केहीबेर पछि नै सेना आफैंले मलाई तत्कालीन महेन्द्र अस्पतालमा लगेर उपचार गरेको याद छ ।’ थापालाई एउटा गोली लागेको थियो । नाइटोदेखि तलको भागमा गोली लागेर ढलेपछि थापा फेरि कहिल्यै उठेनन् ।

को हुन् उमेश ?

उमेशचन्द्र थापा प्युठानमा जन्मिएका हुन् । विक्रम संवत २०१२ असोज १० गते उहाँको जन्म दिन हो । आमा फनिदेवी थापा र बुबा भोज बहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मिएका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित थिए ।

सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर आएका थिए । उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा शुरु गरेका उमेशले विद्यार्थी कालदेखि नै राजनीति शुरु गरेका हुन् ।

प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन शुरु गरेका थिए । कम्युनिष्ट घटकको रुपमा उनले राजनीति शुरु गर्दा विद्यार्थी राजनीतिको अवस्थासमेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गरेको नेकपा दाङका नेता टीकाराम खड्काले बताए । उनी भन्छन्, ‘उहाँले विद्यार्थी राजनीतिमा गरेको योगदान अहिले पनि स्मरणीय छ ।’

२०३५–०३६ सालतिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उनका समकक्षीहरु बताउँछन् । थापा विद्यार्थी राजनीति गरेकै कारण तुलसीपुरमा चार महीना जेल बस्नु परेको पनि सुनाउँछन्, साथीहरु । थापा नगर कमिटी सदस्यसमेत थिए । उनको आफ्नै प्रेस थियो । प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरु कर्तव्यनिष्ठ भएर गर्थे ।

थापाले विवाह प्युठानबाटै गरे । विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गरे । २०४१ फागुन २२ गते उनको मागी विवाह भएकोे हो ।

अरुको नजरमा उमेश

उमेशको मृत्युपछि उनको प्रशंसा गर्नेहरु पनि कम छैनन् । उनले पार्टी र समाजमा गरेको योगदानका बारेमा सबैले खुलेर प्रशंसा गर्छन् । “उहाँको आफ्नै व्यवसाय थियो, सबै समय पार्टीलाई दिन नसकेको भए पनि उहाँलाई पार्टीले अह्राएको काम कर्तव्यनिष्ठ, इमान्दार भएर गर्नुहुन्थ्यो,” एमाले अध्यक्ष खड्काले आदरार्थी शब्दमा भने, ‘विद्यार्थी आन्दोलनमा धेरै समय खर्च गर्नुभएका उहाँलाई त्यही विद्यार्थी आन्दोलनले नै माथि उठाएको थियो ।’

त्यही आन्दोलनका घाइते कृष्ण गिरी त्यो बेलाको घटनालाई सम्झिँदै भन्छन्, ‘गोली लागेर घटनास्थलमै मृत्यु भएका उमेशलाई सेनाले गाडीमा काठको मुढा फाले झैं फालेर लगेको थियो । त्यो मलाई अहिले पनि याद आउँछ ।’ उनले थपे, ‘तर, उमेशको साहसलाई मान्नुपर्छ । त्यो दिन जनसागर थियो घोराहीमा । त्यसको अघि अघि हुनुहुन्थ्यो उमेश । उहाँले देखाउनुभएको वीरताका कारण उहाँको महिमा अझै चुलिनु पर्छ ।’

जीवनका २१ वर्ष सँगै बिताएकी एञ्जला आफ्नो भन्दा पनि बढी समाजका बारेमा सोच्ने व्यक्तिको रुपमा उमेशलाई पाएको अनुभव सुनाइन् । उनले अरुको चाकडी गर्न भने कहिल्यै नजानेको एञ्जलाको मूल्याङ्कन छ ।

थापाले शहादत प्राप्त गरेको १३ वर्ष पुगेको छ । शहीद थापाको सम्मानमा घोराहीमा द्वार निर्माण गरिएको छ र त्यो सडकको नामकरण उमेश मार्ग भनी राखिएको छ ।