काठमाडौं । एनएमबि बैंक र वन टू वाचबीच सहकार्यमा वान टु वाच नेटवर्कका लगानी कम्पनीहरूलाई फाइनान्सिङ सुविधा दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एनएमबि बैंकको केन्द्रीय कार्यालय, बबरमहलमा आयोजित कार्यक्रममा एनएमबिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङले फाइनान्सिङ सुविधा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायले विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने काम गर्नेछन् ।

वन टु वाचले राम्रो लगानी अवसर भएका कम्पनीहरूको पहिचान गर्नुका साथै, उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ। एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तीनले विदेशी लगानीको स्वीकृति नपाउन्जेल सम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ उपलब्ध गराउने छ।

सहकार्यबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनीहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने बताइएको छ ।