काठमाडौं । आज तिललाई ६ प्रकारले प्रयोग गर्ने दिन अर्थात षट्तिला एकादशी। वर्षभर पर्ने २४ एकादशीमध्ये माघ कृष्ण पक्षको एकादशी। पुराणहरूमा यो दिनको महत्त्वबारे उल्लेख पाइन्छ।

संस्कृतमा षड् भनेको छ र तिला भनेको तिल अर्थात् तिललाई छ प्रकारले प्रयोग गर्ने दिन। पुराणविद् पं.बालमुकुन्द देवकोटाका अनुसार तिल प्रयोग गरी नुहाउने, तिलको तेलले मालिस गर्ने, तिलले होम गरी तिलक लगाउने, तिल मिसिएको जल पिउने, तिलले बनेका खानेकुरा खाने र तिल दान गर्ने विधान रहेको जानकारी दिए।

एकादशी विशेषगरी वैष्णवहरूको विशेष पर्व हो। भगवान् विष्णुको पूजा आराधना गर्ने व्रत बस्ने दिनको रूपमा यो दिनको महत्त्व छ। यस पर्वको विधिबारे पुराणविद् देवकोटाले भने, षट्तिला एकादशीका दिन गन्ध, पुष्प, धूप, दीपसहित षोड्षोपचार विधिले विष्णुको पूजा गर्ने र मास र तिलमिश्रित खिचडी पकाएर भगवानलाई भोग लगाउने विधान रहेको छ।

माघ पवित्र महिना भएकोले माघमा प्रशस्त तिलको प्रयोग गर्नुपर्ने पुराणमा बताइएको छ। सनातन धर्ममा तिल देवता र पितृका प्रिय वस्तु त मानिन्छ नै मानिसका लागि पनि स्वस्थबद्र्धक मानिएको छ।