जुम्ला । आखर : शब्द, अक्षर वा रेखा
मथ्थ : धेरै
छोट्या, छोट्टी : छोरा, छोरी

कथ्यका रूपमा मात्र जीवित खस भाषाका यी शब्दलाई शब्दकोशमा सँगालेर जीवन दिने काम भइरहेको छ। बृहत् जुम्ली शब्दकोश बनाउन सुरु गरिएको दशक पनि बितिसक्यो। अझै, ‘खसिया आखर’ ले पुर्णता पाएको छैन। ७२ वर्षे रमानन्द आचार्य शब्दकोशको पाण्डुलिपि बनाइरहेका छन्। कसैबाट पनि सहयोग नआउदा आचार्यलाई पाण्डुलिपिको पुर्णता दिन मुस्किल परेको छ।

सुरुमा १ हजार पृष्ठमा ४० हजारभन्दा बढी शब्द अटाउने गरी काम थालिएको थियो। तर यो अवधिमा २५ हजार शब्द मात्र संकलन भएको र, शब्द पुनरवलोकनको काम अन्तिम चरणमा पुगेको लेखक तथा सम्पादक आचार्यले बताए।

२०६५ सालमा लेख्न सुरु गरिएको ‘खसिया आखर’ तत्कालीन जिविस, आचार्य र जुम्ली अगुवाले यसका लागि पहल गरेका थिए। थुप्रैले आचार्यलाई सघाउने आश्वासन दिए, शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति नै गठन गरियो तर, अहिले न समिति सक्रिय छ न त आर्थिक सहयोग नै जुट्न सकेको छ।

सरोकारवालानै ‘खसिया आखर’ लेखनमा बेखबर बनिदिदा अब यसलाई पूर्णता दिने जिम्मा सम्पादककै थाप्लोमा आइपरेको छ। बिना सेवासुविधा दिनभर एक्लै काममा व्यस्त रहने आचार्य दैनिक आधा घण्टा हिँडेर कार्यालय पुग्छन्। आफू हुँदै शब्दकोश प्रकाशन गर्ने उनको चाहना छ।

कर्णालीका झर्रा खस शब्द मात्र समेटिने खसिया आखर लेखन आर्थिक अभावकै कारण सुस्त भएको उनको भनाई छ । ”शब्द संकलन गर्न गाउँ जानुपर्छ तर बजेट छैन, म एक्लैले शब्द खोज्नु कि वर्णानुक्रम अर्थ्याउनु सहयोग गर्ने कोही छैन।” आचार्यको गुनासो हो यो ।

१८४६ पूर्वको खस राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व जीवन्त राख्न शब्दकोशले सघाउनेमा आचार्य विश्वस्त छन् । खस राज्यको सभ्यता जीवन्त राख्न पनि जुम्लाको सिंजा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ तथा नेपाली भाषा संरक्षण गर्न शब्दकोश तयारी गरिएको उनले बताए।

तत्कालीन खस राज्य सिंजा उपत्यकाभित्र र त्यस वरपर बोलिने भाषाका शब्द संकलनका लागि आचार्यले सहकर्मीसहित डोल्पाको तलिभोटान, कालिकोटको रासकोट, मुगु र हुम्लाका विभिन्न गाउँ घुमिसकेका छन्। सदस्यहरू गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं केही समय खटिएका थिए।

पुराना शब्द संकलनमा सिंजाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तुंगानाथ उपाध्यायले सहयोग गरेको उनले सुनाए। जुम्लाका सिंजा, पाँचसय, चौधबीस र असी भेकलाई केन्द्रबिन्दु बनाइएको छ।

विदेशी भाषाको प्रभाबले मातृभाषा लोप हुने अवस्थामा पुगेको भन्दै, उनले भने, ”खस भाषा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न लागिएको हो।” यसमा पहिलो असी दराली भाषिकाका उपभाषिकाभित्र असीदरा, पाँचसय दरा, सिञ्जा दराका शब्द राखिएका छन्। दोस्रो, तिब्रिकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन्। तेस्रो, रास्कोटी भाषिकाभित्र कालिकोटमा बोलिने भाषा छन्। चौथोमा मुहु भाषिकाभित्र मुगु र हुम्लामा बोलिने भाषालाई समावेश गरिएको छ।

‘अ’देखि ‘न’ वर्णसम्मका शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ। बाँकी शब्दका लागि चन्दननाथ नगरपालिकाले २ लाख विनियोजन गरेको छ। ‘प’ देखि ‘ज्ञ’ सम्मका वर्णबाट आउने शब्द ६ महिनामा सक्ने लक्ष्य छ। अन्तिम पाण्डुलिपि तयार गरी विषय विज्ञसम्म पुर्‍याइने उनले सुनाए। प्राप्त सुझावबमोजिम २०७७ भित्र शब्दकोश प्रकाशन गर्ने तयारी छ। यसका लागि जिससमार्फत नगरपालिका र गाउँपालिकामा बजेट प्रस्ताव गरिएको छ। आचार्यले नयाँ पुस्तालाई महत्त्वपूर्ण कोसेली छाड्न अहोरात्र खटिएर काम गरेको जिसस प्रमुख लालबहादुर सार्कीले बताए। यसलाई पूर्णता दिन सबै स्थानीय तहमा पहल गर्ने उनको भनाइ छ।

खस शब्द र अर्थ

खसिया : खख जाति वा मानिस

टट्कि : बच्चा, सन्तान

क्याँद्दो : अब के गर्ने

कइथो माण्ठ : कस्तो मान्छे

धेउक्या,धेइक्या : थाहा पायौ, थाहा पाइस्

रायौ, राइस : चिन्यौ, चिनिस थोकै,

नापानापा : कम, थोरै थोरै

आ भइजाला : अब पुग्यो वा भइसक्यो

च्वोड्याँला : जान्नँ, खान्नँ, मान्दैन