काठमाडौं । प्रत्येक स्थानीय तह अन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन दिएका छन् ।

माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा शुक्रबार बेलुकीसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ७ सय ५३ स्थानीय तहमा एक–एक जना रहने गरी रोजगार संयोजकको आवेदन गरेको थियो । प्रदेश नम्बर १ बाट तीन हजार ६ सय ६५, प्रदेश नम्बर २ बाट तीन हजार ६ सय ७१, प्रदेश ३ बाट चार हजार ९ सय ९४, गण्डकी प्रदेशबाट एक हजार ९ सय ५५, प्रदेश ५ बाट दुई हजार ३०१, कर्णाली प्रदेशबाट तीन हजार ३७८ र सुदूरपश्चिम प्रदेशबाट चार हजार चार जनाको आवेदन परेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिए ।

अब परेका दरखास्त मध्येबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिने उहाँले जानकारी दिनुभयो । प्रारम्भिक छनोट सकिएसँगै कम्प्युटर सीप परीक्षाका लागि सूचना जारी गरिने उनको भनाई छ । रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।

रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।