काठमाडौं । जलवायु परिवर्तन र सिमसार क्षेत्र भन्ने नाराका साथ शनिबार नेपालमा पनि विश्व सिमसार दिवस मनाइँदै छ ।

जलवायु परिवर्तनको असरले पानीको मुहान सुक्दै जाने तथा हिमालको हिउँ पग्लेर काला पहाडको रुपमा चित्रित हुन थालिरहेका बेला जलवायु परितवर्तनलाई सिमसारको संरक्षण र व्यवस्थापनसँग जोडेर यो दिवस मनाउन लागिएको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीका अनुसार जलवायु परिवर्तनको प्रत्यक्ष असरबाट बढी आक्रान्त भइरहेको नेपालका लागि यो नारा निकै सान्दर्भिक भएकाले विश्व जगत् पनि नेपाल लगायतका अति कम विकसित मुलुकको समस्यासँग परिचित छ र विश्व समुदाय चिन्तित छ भन्ने दिवसमा जनचेतना विस्तार गरिने छ ।

उनले भने, ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रको अर्थव्यवस्थालाई पारेको प्रभाव र नेपालजस्ता अल्प विकसित मुलुकले जलवायु परिवर्तनका कारणले भोग्नु परेको पीडालाई अन्तर्रा्ष्ट्रियकरण नगरुन्जेलसम्म नेपालमा भोलिका सन्ततिले पनि यही समस्या भोग्नु पर्नेछ ।’ यस्तो अवस्थामा नेपालले आफ्ना सिमसार क्षेत्रको संरक्षण जरुरी भएको उनको तर्क छ ।

नेपालले विश्व तापक्रम वृद्धिका लागि खासै भूमिका नखेले पनि त्यसको प्रत्यक्ष असरबाट प्रताडित भइरहेका बेला नेपालले आफू लगायतका उच्च हिमाली देशको समस्या विश्वव्यापीकरण गर्ने बेला भएको जलवायु परिवर्तन विज्ञका रूपमा काम गरिरहेका मञ्जित ढकालको धारणा छ ।

नेपालका सिमसार क्षेत्रहरू जलवायु परिवर्तनको जोखिममा रहेका छन् । कोशी टप्पुदेखि रारातालसम्म विश्व रामसार सूचीमा नौ वटा सिमसार क्षेत्रहरु सूचीकृत भइसकेका छन् । सूचीकृत भएका सिमसारहरू संरक्षित र वन क्षेत्रभित्र हुँदा खासै अतिक्रमणको चपेटमा नपरे पनि सार्वजनिक क्षेत्रमा रहेका सिमसार एकातिर अतिक्रमण र अर्कोतिर जलवायु परिवर्तनको जोखिममा परिरहेकाले तीनै तहका सरकारले साझा एजेन्डा बनाएर संरक्षण गर्नु पर्ने ढकालको भनाई छ ।

अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न इराकको रामसार सहरमा भएको महासन्धि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र हो । यो महासन्धि सन् १९७१ मा भएको हो भने सन् १९९७ देखि हरेक वर्ष पक्ष राष्ट्रहरुले सिमसार दिवस मनाउन थालेका हुन् ।

नेपालको संविधानले सिमसारको संरक्षण गर्ने अधिकार सङ्घीय सरकारले दिए पनि पर्यापर्यटनका लागि आकर्षक केन्द्र, जैविक विविधता तथा वन्यजन्तुको आहार विहारका लागि सिमसार क्षेत्र निकै धनी मानिने भएकाले सिमसारमा आधारित पर्यापर्यटन प्रवद्र्धन गर्न तीनै तहका सरकारले साझा एजेन्डा बनाएर संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका सचिव डा। ओलीले बताए ।

जीवित चराचरसँग अन्यौन्याश्रित सम्बन्ध भएको पानीको सञ्चय हुने ताल तलैया, पोखरी क्षेत्रलाई सिमसार क्षेत्र भनिन्छ । यी सिमसार क्षेत्रलाई पृथ्वीको मिर्गौला पनि भन्ने गरिन्छ । पानीको सञ्चय गर्दै जमिनभित्र पठाउने ९रिचार्ज गर्ने ० अनि पानीमा बग्ने फोहोरलाई थुपार्ने काम गर्ने भएकाले सिमसार क्षेत्रलाई मिर्गौला भन्ने गरिएको हो । थुप्रिएको फोहोरलाई मानिसले सहजै व्यवस्थापन गर्न सक्ने भएकाले वातावरणीय प्रदुषण नियन्त्रणका लागि पनि यसको महत्व रहेको मानिन्छ ।