एजेन्सी । भेनेजुएलाको सरकारले ढुकुटीको सुन बेचेर भएपनि आवश्यक रकमको जोहो गरिरहेको नयाँ प्रमाणहरू फेला परिरहेका छन् । भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्नो ढुकुटीको सुन बेचिरहेको थप प्रमाण फेला परेको छ।

यूएईको आबु धाबी स्थित लगानी कम्पनी नुर क्यापिटलले गत साता मात्रै भेनेजुएलाको केन्द्रीय ब्याङ्कसँग तीन टन सुन किनेको स्वीकार गरेको छ। रोएटर्स समाचार संस्थाले हेरेको एक वक्तव्यमा नुर क्यापिटलले अब भविष्यमा भेनेजुएलासँग थप कारोबार नगर्ने बताएको छ।

नुर क्यापिटल र अन्य फर्महरूलाई अमेरिकाले भेनेजुएलाको सुन नकिन्न चेतावनी दिएको छ । अमेरिकाले आर्थिक प्रतिबन्धहरू लगाएर निकोलस मदुरोलाई सत्ताबाट हटाउन चाहेका कारण चेतावनी दिएको हो ।

रोएटर्स समाचार संस्थाका अनुसार गत साता एक सानो कार्गो विमान भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन टन सुन बोकेर उडेको जनाइएको छ ।

भेनेजुएलाको सुन खानीबाट अवैध रूपमा सुन निकाल्ने काम भइरहेको भन्दै चिन्ताहरू व्यक्त हुने गरेका छन् । भेनेजुएलाका विपक्षी नेता हुवान गुआइदोले भने भेनेजुएलाका सम्पत्तिको सुरक्षा गर्न विभिन्न उपायहरू अपनाउनु पर्नेमा जोड दिइरहेका छन्।

टर्कीमाथि पनि भेनेजुएलाको सुन खरिद नर्गन दबाब बढेको छ । टर्कीले पनि भेनेजुएलाको सुन किन्दै आइरहेको छ । भेनेजुएलाको सुन टर्की हुँदै इरान पुग्ने गरेको छ, त्यसो भएमा अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घन हुन जाने हुदा टर्कीमाथि सुन नकिन्न दबाव बढेको हो ।

टर्की र भेनेजुएलाबीचको सुन व्यापार निरन्तर बढिरहेको छ। गएको वर्ष भेनेजुएलाले ९० करोड डलर मूल्य बराबरको सुन प्रशोधन गर्न भन्दै टर्कीमा पुर्‍याएको थियो। तर प्रशोधित सुन फेरि भेनेजुएला फर्काइएको कुनै प्रमाण छैन।