काठमाडौँ । नेपाली फिल्मको व्यापार उदेकलाग्दो भए पनि लगानी दिन दुई गुना रात चौगुना बढेको बढ्यै छ । वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् तर आधा दर्जन फिल्मले पनि मुश्किलले लगानी सुरक्षित गरेर निर्माताको खल्ती भर्छन् । नभए बाँकी फिल्मले त पोस्टर छापेको पैसा समेत उठाउँदैनन् ।

अहिलेको अवस्थामा १ करोडदेखि डेढ करोडको आसपासमा चलेका कलाकार लिएर फिल्म बनाए लगानी उठाउन ठूलो संघर्ष गर्नु नपर्ने फिल्म पण्डितहरु बताउँछन् । तर, चलेका कलाकार लिएपछि फिल्मको निर्माण लागत २ करोडमाथि हुन जान्छ । किनकि, फिल्मको आधा छायांकन हुने बजेट अहिले एक अभिनेताले पारिश्रमिक बुझ्न थालेका छन् ।

महँगो पारिश्रमिकमा दर्शकले पत्याएका अभिनेता लिएर २ करोडको आसपासमा फिल्म बनाए पनि लगानी सुरक्षित हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । चलेकै अभिनेताका कारण फिल्म सुपरहिट हुन्थ्यो भने प्रदीप खड्काको रोजु असफल हुँदैन थियो । हुनत, फिल्म नै कमजोर भएपछि व्यापार उत्साहजनक हुने कुरै भएन ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यात्रा’ कै कुरा गरौं । यो सर्वाधिक महँगो लागतमा बनेको फिल्म हो । फिल्म रिलिज हुँदासम्म ३ करोड नाध्ने निर्माताको अनुमान छ । लागत मात्र धेरै होइन नेपाली फिल्मको इतिहासमा सम्भवतः सबैभन्दा धेरै दिन खिचिएको फिल्म पनि हो यो । फिल्मको छायांकनका लागि करीब नव्बे दिन क्यामेरा अन भएको छ ।

पुराना अभिनेता तथा अनुभवी निर्माता केशव भट्टराईको निर्माण र सम्राट शाक्यको डेब्यु निर्देशनमा बनेको यो फिल्मले घरेलु बजारबाट ९ करोड ग्रस कलेक्सन गर्नुपर्छ, अनि मात्र निर्माताको लगानी सुरक्षित हुन्छ । तर, फिल्मले नेपालबाटै ९ करोड कमाउन भने असम्भव देखिन्छ । किनकि, यो फिल्मले घोषणा गरेको प्रदर्शन मितिमा फिल्म ए मेरो हजुर ३ पनि आउँदैछ ।

दुई फिल्म एकसाथ आउँदा दर्शक बाँडिन्छन् र हल संख्या पनि बाँडिन्छ । अर्कोतिर ए मेरो हजुरु आफैंमा एक ब्रान्ड बनिसकेको छ । यसको दोस्रो सिरिजले गत वर्ष बक्सअफिसमा धूम मच्चाएको थियो । ए मेरो हजुर ३ु मा सुपरस्टार अनमोल केसीको प्रमुख भूमिका, झरना थापाको निर्देशन र झरनाकी छोरी सुहानाले हिरोइनको रुपमा डेब्यु गरेकी छिन् । यसकारण पनि यो फिल्मको प्रतिक्षा दर्शकमा व्यग्र छ ।

‘यात्रा’ मा भने अभिनेता सलिनमान बनियाँ लिड रोलमा छन् । लुक्स, हेयर स्टाइल र आकर्षक ड्रेसअपका कारण राम्रो फ्यान फलोइंग बनाएका उनले आफ्नै भरमा फिल्म चलाउन सक्नेमा धेरै सशंकित छन् । उनीमाथि ३ करोड खर्च गर्नु भनेको निर्माताले आफ्नै खुट्टामा बञ्चरो हानेको रुपमा ब्याख्या गर्ने पनि कम छैनन् ।

सलिनलाई निर्माताको लगानी सुरक्षित गर्नुपर्ने चुनौती र अनमोलको भरपर्दो स्टारडमलाई आफ्नो कलिलो स्टारडमले पराजय गर्न फलामको चिउरा चपाउनुभन्दा कम सहज भने हुने छैन । अब यो हेर्न चाखपूर्ण हुनेछ कि ए मेरो हजुर ३ र यात्रा को भिडन्तले कुन अभिनेतालाई शक्तिशाली घोषित गर्नेछ ।