काठमाडौं । रोधीका मृदुगान शेक्सपियरका, सम्वाद विर्साउँछन्
कालीदास लुकिछिपी म कविता, लेखु भनी आउँछन्
यो धौलागिरी गाउँदै छ अहिले, नाच्दै छ सैपाल यो
ए डाँफे सुना त सुरम्म्य कविता, प्यारो छ नेपाल यो
कवि मनोज भण्डारीले शार्दूलविक्रीडित छन्दमा रचिएको यो कविता धेरै ठाउँमा सुनाएका छन्, लय हालेर । यो कवितामा नेपालको सून्दरतालाई विश्वविख्यात साहित्यकार शेक्सपियरका सम्वादभन्दा माथि राखेका छन्, कवि भण्डारीले ।
हो तिनै शेक्सपियरले लेखेको नाटकबाट अभिनय सुरु गरेका चर्चित कलाकार बीएस राणाले भने अभावै अभावमा मृत्युवरण गर्नु परेको छ । अर्थात्, उनको दुःखद अन्त्य भएको छ । झण्डै ३ दशक (३० वर्ष) बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यकार शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए ।
बीएस राणाले जति नेपाली फिल्म खेले, अधिकांशमा उनी सम्पन्न परिवारका पिताको भूमिकामा देखिए । उनको त्यो मौलिक अभिनय थियो, त्यसैले यस्तो भूमिकामा राणा सँधै निर्विकल्प ठहरिए ।
सेतो बाघ, वसन्तीजस्ता चलचित्रमा त उनी राजदरबारसँग नै जोडिए । उनको पहिरन, बोलीचाली हेर्दा र सुन्दा कसैलाई लाग्दैनथ्यो, उनको वास्तविक जीवन अभावमा वितिरहेको थियो । पीडादायी थियो ।
बीएस राणाले अभिनय गरेको पछिल्लो चलचित्र दर्पण छाया–२ मा पनि उनी धनाढ्य हजुरबुबाको भूमिकामा देखिएका थिए । चलचित्र करोडपति होस् या नेपालीबाबु, बीएस राणाको भूमिका निकै लोभलाग्दो थियो । तर, त्यो सबै रिलमा मात्रै थियो, रियलमा थिएन । अथवा भनौँ, पर्दामा मात्रै रजगज थियो, हकिगतमा थिएन ।
जीवनको उत्तरार्धमा उनी आर्थिक अभावसँग जुधिरहेका थिए । आर्थिक अभावसँग जुध्दाजुध्दै राणाको ७९ वर्षको उमेरमा शुक्रबार निधन भयो । आज्माको रोगी राणाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
राणाको निधनपछि बढीनै स्तब्ध भए, निर्देशक तुलसी घिमिरे । चलचित्र ‘अन्याय’मा काम गरेपछि राणा र घिमिरे अझै नजिकिएका थिए । त्यसपछि लगातारसँगै काम गरेको पनि सम्झन्छन्, घिमिरे । घिमिरेका अनुसार राणाले आफ्नो भित्री दुःख कहिल्यै देखाएनन् । बोलीको प्रवाह नगर्ने, सरल र कसैले भनेको कुरा नकाट्ने खालको स्वभाव थियो भन्छन्, निर्देशक घिमिरे ।
पछिल्लो समय राणा आर्थिक समस्यामा थिए । उनले बाँसबारीमा रहेको घर–जग्गा बेचेका थिए । केही दिनअघि मात्रै राणाले नयाँ चलचित्रबारे चासो राखेको घिमिरेले सुनाए । निर्देशक घिमिरेमार्फत बीएस राणालाई चिनेका बिक्रम कार्की माघ ५ गते आफ्नो अफिसमा आएको बताउँछन् । रोगले च्यापेपछि कार्कीले नै ११ गते शुक्रबार अस्पताल लगेका थिए । कार्की भन्छन्, ‘उहाँको योगदानको अभिलेख होस् र आर्थिक सहयोग पनि जुटोस् भन्ने उद्देश्यले उहाँको जिवनीमा आधारित एउटा डकुमेन्ट्री बनाउन लागेको थिएँ । तर अस्पतालमा निको पारेर फर्काउनै सकिएन ’
राणालाई नजिकबाट चिन्नेहरु भन्छन्–अनुसार रोगले च्याप्दै लगेपछि काम पाउन छाडे । घर चलाउन र उपचार खर्च अभाव भएपछि भएको घर बेचे । पछिल्लो समय कोठा भाडा तिर्नसमेत गाह्रो भएको थियो ।
को थिए बीएस राणा ?
बेलायतमा झण्डै ३ दशक बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यकार शेक्सपियरका नाटकहरुमा अभिनय गरे । नेपाल फर्किएपछि राणाले २०४१ सालदेखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गरेर दर्जनौँ चलचित्रमा अभिनय गरे ।
बीएस राणाले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरियलमा पनि अभिनय गरेका थिए । उनले अभिनय गरेको चर्चित टेलिसिरियल हो, मुक्ति । जसमा उनी धनाढ्य पिताको भूमिकामा देखिएका थिए ।
उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायत चलचित्र तथा दर्जनौँ टेलिचलचित्रमा अभिनय गरेका थिए ।
काठमाडौँ बूढानीलकण्ठका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनका श्रीमती र तीन छोरी छन् । उनका छोराको १३ वर्षको उमेरमै निधन भएको थियो । असाध्यै पीडादायी अन्त्य भयो, उनको । राणा पछिल्लो समय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सामाग्री अंग्रेजीकरण गर्ने योजनामा संलग्न थिए ।