काठमाडौं । शाक्य महाविहार सङ्घको सम्पन्न पहिलो महाधिवेशनले शुभकाजी शाक्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष द्वयमा अमीरमान शाक्य तथा गौतम शाक्य, महासचिवमा संघरत्न शाक्य, सचिवमा राजेश शाक्य, कोषाध्यक्षमा चैतन्यराज शाक्य र सह–कोषाध्यक्षमा दीलिपरत्न शाक्य निर्विरोध चुनिए ।
त्यसैगरी, सदस्यहरुमा विजयरत्न असंबरे, रोशनबहादुर शाक्य, सुरेश शाक्य, आनन्दरत्न शाक्य, धर्मरत्न शाक्य, अमिरकुमारी शाक्य, दुर्गादेवी शाक्य र ज्योति शाक्य छन् ।
सङ्घले शाक्यवंशको पहिचानका लागि उत्कृष्ट योगदान पुर्याउने कीर्तिपुण्य महाविहार, लगं बहाःका हर्षमुनि शाक्यलाई ‘शाक्य रत्न’ उपाधि र मैत्रीपूर महाविहार, क्वाःबहाःका चक्रेश्वर धूपरत्न शाक्यलाई ‘ध्रुबतारा सम्मान’ प्रदान गरेको थियो ।
काठमाडौँ जिल्लाका प्रदेश सांसद राजेश शाक्यले काठमाडौँ उपत्यकाभित्रका महाविहारको मौलिक स्वरुपको जगेर्ना गर्न र सरकारबाट नियमित आर्थिक सहयोग प्राप्त गर्न एक महाविहार व्यवस्थापनि समिति खडा गर्नुपर्ने आवश्यकता औँल्याए भने ललितपुरका प्रदेश सांसद शोभा शाक्यले शाक्य ब बज्राचार्यहरुको थातथलो बहाः र बहीलाई छाडेर अन्यत्र बस्न जाने प्रवत्ति अनुचित भएको बताइन् ।
महाधिवेशनको सफलताको कामना गर्दै नदी सङ्गम महाविहार सर्वसङ्घ, खुशिबहीका अध्यक्ष रत्नमान शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. नरेशमान बज्राचार्य र बौद्ध विहार सङ्घ, ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले शुभकामना दिए ।
महासचिव संघरत्न शाक्यले आगामी दिन सङ्घले शाक्य र बज्राचार्यहरुको बहाः तथा बहीहरुको अनुसन्धान गरी ऐतिहासिक तथ्यहरुको सङ्कलन र अभिलेखीकरण गर्ने, साउन महिनाको गुँला पर्वमा बनाइने धाःबाजाको प्रदर्शन गर्ने, विभिन्न क्षेत्रमा योगदान पुर्याउने २० जना शाक्य कुलपुत्र तथा कुलपुत्रीहरुलाई ‘राष्ट्रिय शाक्य सम्मान’ प्रदान गर्ने र शाक्य समुदायको ऐतिहासिक पर्वको रुपमा ‘शाक्य सङ्गायना’ आयोजना गर्ने कार्यक्रम तय गरेको जानकारी दिए ।