काठमाडौं । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोलीलाई हराएको छ ।

इस्लामावादमा भएको खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले हराएको हो । पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले ७ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १०२ रन बनाएको थियो ।

खेलमा नेपालकी मन केशरी चौधरी प्लेयर अफ दि म्याच बनिन् ।

जितसंगै नेपालले ५ खेलको सिरिजमा २-० ले अग्रता बनाएको छ । नेपालले पहिलो खेलमा पनि पाकिस्तानलाई १० विकेटले हराएको थियो ।

यस खेल फैसलावादमा शुक्रबार तय भएको भएपनि वर्षाको कारण शनिबारको लागि सारिएको थियो । यसअघि बिहिबार तय भएको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको थियो ।