दमौली । जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्थे । दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाउनुभयो तर आत्मसन्तुष्टि लिन सकेनन् ।

अर्काको निर्देशनमा काम गर्नुभन्दा आफैँले सानो व्यवसाय गर्नसके आत्मसम्मान र प्रतिष्ठान हुने उनलाई थाहा थियो, तर बाध्यताले उनलाई विदेश दौडाएको थियो ।

जापानमा काम गरेर फर्किएपछि आफैँले केही व्यवसाय शुरु गर्छु भन्ने सोच राखेर घर फर्किएका उनी अहिले बङ्गुरपालनमा व्यस्त छन् । उनले आफ्नै व्यवसायमा श्रम र पसिना खर्चिरहेका छन् ।

तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका आलेले २०६८ मा भानु कृषि तथा पशु फार्म दर्ता गरेर बङ्गुरपालन सुरु गरे । आफ्नै पेशा व्यवसाय भए अरुको निर्देशनमा काम गर्न नपर्ने र आफूले मेहनत गरेपछि आफैँलाई नै हुने आलेको भनाई छ ।

उनी भन्छन्, ‘नेपालमै बसेर सानो व्यवसाय गरे पनि इज्जत र प्रतिष्ठा छ ।’ बङ्गुर तथा बाख्राको पाठापाठी उत्पादन गर्ने र अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यसहित फार्म स्थापना गरे पनि अहिले भने बङ्गुरका पाठापाठी मात्रै उत्पादन गरी बिक्री गरिरहेको उनले सुनाए । ४० लाखको लगानीमा व्यवसाय शुरु गरेका आलेको अहिले एक करोडभन्दा बढी लगानी भइसकेको छ ।

उनको फार्मबाट वार्षिक ५०० बङ्गुरका पाठापाठी उत्पादन हुने गरेका छन् । बङ्गुरको पाठापाठी बिक्री गरेर वार्षिक आठ लाखभन्दा बढी नाफा हुने गरेको उनी सुनाउँछन् । बङ्गुरको पाठापाठीको जिल्लाभित्रै निकै नै माग भए पनि मागअनुसार पुर्याउन नसकेको उनले बताए । उनका अनुसार एउटा पाठा वा पाठीमा मान्छे पाँच हजारसम्म मोल हाल्न तयार हुन्छन् ।

यसरी फुस्रेटारका पूर्णबहादुरले लोक दोहोरी गायक पशुपति शर्माको ‘मलाई जापान पनि यै,, मलाई अमेरिका यै,,, बोलको गीतलाई व्यवहारमा उतारेका छन् ।