काठमाडौं । कांग्रेको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले काठमाडौंमा दुई वटा सरकारी गाडीको चाबी नियन्त्रणमा लिएका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव चढेको गाडीको चाबी उनीहरुले कब्जामा लिएका हुन् । शनिबार बिदाका दिन चलाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव शिशिरकुमार ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडीको चाबी कार्यकर्ताले खोसेका हुन् । यस्तै, मे १ झ १५१ नम्बरको गाडीको चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन् ।

संघले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार शनिबार सरकारी गाडी चल्न नदिने भनेको थियो । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा सडकमा सरकारी गाडीहरुको चाबी नियन्त्रणमा लिइएको बताइएको छ । नेविसंघका कार्यकर्ताले सिंहदरबारबाट लाजिम्पाट जाँदै गरेको गाडीको चाबी खल्तीमा हालेका हुन् ।