काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ उपद्रो गर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा उधुम गर्न थाल्यो । केही दिन पहिले स्विजरल्याण्डको डाभोसबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भएको विषयमा दलीय स्वार्थ मिसाउँदै ‘उधुम भएको छैन’ भनेका थिए । तर, अहिले नेविसंघले उनैलाई उधुम गरेर देखाइदियो ।

नभन्दै, नेविसंघले शनिबार देशका विभिन्न ठाउँमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेर उपद्रो सुरु गरेको हो । बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको आरोपमा नेविसंघले काठमाडौं, पोखरा, डोटीलगायतका स्थानमा सरकारी गाडीमा आगजनी र तोडफोड गरिदियो ।

नेविसंघले काठमाडौंको वुद्धनगरमा एउटा गाडीमा आगजनी गरेको छ । पाटन उच्च अदालतको गाडीमा नेविसंघले आगजनी गरेको हो । यस्तै, शनिबार बहान पोखरा महानगरपालिकाको भ्यानमा पनि आगजनी गरेको थियो । पोखराको मासबारमा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा नेविसंघले आगजनी गरेको प्रहरीले जनाएको छ ।

यसैबीच, बिदाको दिन गाडी चलाएको भन्दै नेविसंघले तीनवटा गाडी नियन्त्रणमा लिएको छ । नेविसंघले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडी लाजिम्पाट नियन्त्रणमा लिएको छ ।

लैनचौरबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लियो । यसैगरी, डोटीको सिलगढीमा सरकारी गाडी तोडफोड भएको छ । बा २ झ ४१८८ नम्बरको मेल्लेख गाउँपालिका अछामको गाडी नेविसंघका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

धनगढीदेखि अछाम जाँदै गरेको गाँउपालिका उपाध्यक्ष धनबहादुर शाह सवार स्कारपियो गाडी तोडफोड भएको हो । नविसंघका केन्द्रीय सदस्य सुशील भट्टका अनुसार शनिबार सरकारी गाडी चलाएकोले संगठनले विरोध जनाएको हो । नेविसंघ प्रदर्शनमा उत्रिएपछि शुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा नेविसंघले आन्दोलन गर्दै आएको छ । यसैको विरोधमा माउपार्टी कांग्रेसले समेत माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । जसका लागि ७७ वटै जिल्लामा केन्द्रका प्रतिनिधि खटाउने निर्णय केन्द्रीय समितिले गरिसकेको छ ।