काठमाडौँ । यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ । तेस्रो तथा निर्णायक खेलमा १४ रनको जित हात पार्दै नेपालले शृंखला २-१ ले जितेको हो। नेपालले यसअघि तीन खेलको एकदिवशीय शृंखला पनि जितेको थियो। एकदिवशीय र टीट्वेन्टी दुवैमा नेपालले पहिलोपटक शृ‌ंखला जितेको हो।

वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । यूएईका साइमन अनवरले ३० र घुलाम सब्बरले २५ रन जोडे। यूएईलाई अन्तिम ओभरमा २० रन आवश्यक थियो। नेपालका करन केसी , ललित राजबंशी र अविनाश बोहोराले दुई दुई विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।

दुई ओभरमा २९ रन जोडेको यूएई सुरुमा निकै बलियो देखिएको थियो। यूएईले चार ओभर तीन बलमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो। तर तेस्रो विकेटका रुपमा सब्बरलाई अविनाश बोहोराले आउट गरेपछि यूएई दबाबमा आएको थियो। यूएईले पाँच ओभरमा ६० रन जोडेको अवस्थामा छैटौँ ओभरमा सन्दीप लामिछाने बलिङमा आएका थिए।

पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले उक्त ओभरको तेस्रो बलमा टोलीको चौथो विकेटका रुपमा मोहम्मद उसमानलाई आउट गरे। उक्त ओभरमा सन्दीपले केवल तीन रनमात्र खर्चिए। यूएईले सात ओभरमा तीन विकेट गुमाएर ७३ रन जोडेको अवस्थामा करन केसी आठौँ ओभरमा बलिङमा आएका थिए। त्यस ओभरमा करनले मोहम्मद नाविद र अनवरलाई आउट गरे। त्यस ओभरमा उनले चार रनमात्र खर्चिए। करनले पहिलो ओभरमा १० रन खर्चिएका थिए।

यसअघि नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको हो।

नेपालका पारस खड्काले १४ बलमा एक छक्का र चार चौकासहित २९ रन जोडे। सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन बनाए। विनोद भन्डारीले १३ बलमा १ छक्का र २ चौकासहित २१ रन जोडे। करन केसीले पाँच बलमा एक छक्कासहित १० रन बनाए। टस जितेको यूएईले नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो। यूएईका मोहम्मद नाविदले दुई ओभरमा एक मेडन राखेर दुई विकेट लिँदै ६ रनमात्र खर्चिए।

शृंखलाअन्तर्गत पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो।