उदयपुर । त्रियुगा नगरपालिका वडा नं. १० ले ज्येष्ठ नागरिकलाई उपचार तथा खानपिनका लागि ज्येष्ठ नागरिक अक्षय कोषको स्थापना गरेको छ ।
वडाध्यक्ष प्रकाशकुमार खड्काका अनुसार, पारिवारिक विचलनकाकारण ज्येष्ठ नागरिकको उपचार तथा खानपिनमा भएको समस्यालाई कम गर्न तीन लाख रुपैयाँको कोष स्थापना गरिएको जानकारी दिए । कोषलाई वार्षिकरुपमा बढाउँदै लैजाने तयारी रहेको वडा कार्यालयले जनाएको छ।
ज्येष्ठ नागरिकले अपहेलित जीवन बिताउन बाध्य भएकाले त्यस्ता समस्यामा परेकालाई उद्धार गर्न वडा कार्यालयले सानो प्रयासको थालनी गरेको खडकाको भनाइ छ। खड्काले चालु आर्थिक वर्षमा नै वडाका ज्येष्ठ नागरिकलाई तीर्थस्थलको भ्रमण गराइ सम्मान गर्न लागिएको बताए।
वडाका ज्येष्ठ नागरिकलाई दिउँसो बस्न र साधना गर्ने गरी ज्येष्ठ नागरिक चौतारा र ज्येष्ठ नागरिक भवन निर्माणको कार्य सुरु गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए।