काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले इटालीयन निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय मंगलबार (भोलि) सकिँदै छ ।

अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो ।

समितिका कार्यकारी निर्देशक कँडेलले काममा फर्किन दिइएको म्याद सकिन एक दिन बाँकी रहँदा अहिलेसम्म कुनै जानकारी आएको छैन, भने । उनका अनुसार अब सीएमसी आउने संभावना कम छ । निर्माण कम्पनी नआए कसरी अघि बढ्ने भन्ने कुराको टुङ्गो लगाउन आफुहरु छलफलमा रहेको निर्देशक कँडेलले जानकारी दिए ।

निर्माण कम्पनी नफर्किएमा बाँकी काम सम्पन्न गर्न दुईवटा विकल्प समितिले अगाडि सारेको छ । पहिलो विकल्पका रुपमा छोटो बाटोबाट काम गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीमा बिशेष परिस्थितिको अवस्थाको कारण जनाई खरिद प्रक्रिया पु¥याएर अहिले काम गरिरहेका सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्न पाउने व्यवस्था छ ।

त्यसका लागि तीनदेखि चार महिनाको अवधि तोकिएको छ । दोस्रो विकल्पका रुपमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आव्हानमै तीन देखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

यी विकल्पहरूका बारेमा सरकारले विशेष परिस्थितिको घोषणा गरी निर्णय गर्नुपर्ने समितिले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले १४ दिन पुगेको भोलिपल्ट ठेक्का तोड्ने र धरौटी पनि जफत गर्ने बताउँदै आएका छन् ।