एजेन्सी । एल साल्भाडोरको राष्ट्रपतिमा सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले विजयी भएका छन् । तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

एल साल्भाडोरको निर्वाचन आयोगले सार्वजनिक गरेको करिब ८८ प्रतिशत मतगणनामा बुकेलेले करिब ५४ प्रतिशत मत प्राप्त गरिसकेका छन् । ५० प्रतिशतभन्दा बढी नतिजा बुकेलेको पक्षमा भएकाले विजयी निश्चित भएको हो ।

दोस्रो स्थानमा रहेका क्यालीजाले करिब ३२ प्रतिशत र तेस्रो स्थानमा रहेका मार्टिनेजले करिब १४ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ । चुनावमा करिब ५२ लाखले मतदान गरेका थिए ।

राष्ट्रिय एकताका लागि बृहद गठबन्धन (गाना) बाट प्रतिनिधित्व गरेका ३७ वर्षीय नयिब बुकेलेले सान साल्भाडोरमा विजयी समारोहबीच आफ्ना समर्थकलाई धन्यवाद गरेका थिए। राजधानीको प्लाजा मोराजनमा भेला भएका उनका हजारौं समर्थकले बुकेलेको समर्थनमा नारा जुलुस र राष्ट्रिय झण्डा फहराएका थिए ।

मध्य अमेरिकी राष्ट्र एल साल्भाडोर विगत लामो समयदेखि भ्रष्टाचार र कुशासनका कारण आर्थिक रुपमा कमजोर स्थितिमा पुगेको छ ।

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति बुकेलेले भने “यो विजय साल्भाडोरियाली जनताको हो, आज हामीले पहिलो चरणको निर्वाचन जितेका छौं र हामीले इतिहास निर्माण गर्न सक्षम भएका छौं ।” पहिलो चरणको निर्वाचनमा विजयी भएपनि उनले दोस्रो चरणको निर्वाचन पनि सामना गर्नुपर्ने सम्भावना रहेको बताइन्छ ।

बुकेलेले शिक्षामा लगानी वृद्धि गर्ने तथा भ्रष्टाचार विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर उनीमाथि मुलुकको खस्कदो शान्ति सुरक्षामा सुधार ल्याउनु सबैभन्दा ठूलो चुनौती हुनेछ ।

बुकेलेका विपक्षीहरु कार्लोस क्यालीजा र ह्युगो मार्टिनेज दुबैले चुनावी हार स्वीकार गरेका छन् । झण्डै तीन दशकसम्म दुई नेताले नेतृत्व गरेका दलहरुले एकछत्र शासन सञ्चालन गरेका थिए ।

यसैबीच, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का महासचिव लुइस अल्माग्रोले एक वक्तव्य प्रकाशन गरी ऐतिहासिक सफलताका लागि बुकेलेलाई बधाई दिएका छन् ।