काठमाडौँ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रको लगानी घट्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा यसवर्षको साउनदेखि पुससम्मको लगानी १५ प्रतिशतले घटेको छ । २०७४ साउनदेखि पुससम्मको तुलनामा २०७५ साउनदेखि पुससम्ममा ठूला, मझौला तथा साना उद्योगमा लगानी घटेको हो ।
उद्योग विभागको तथ्याङ्क अनुसार गत वर्षको साउनदेखि पुससम्म ठूला, मझौला तथा साना उद्योगमा १६ अर्ब ६८ करोड ४० लाख लगानी भएकोमा २०७५ साउनदेखि पुससम्मको ६ महिनामा १४ अर्ब १५ करोड ३० लाख मात्रै उद्योगमा लगानी भएको छ ।
यो वर्ष उद्योगमा २ अर्ब ५३ करोड १० लाखको रकम कमि आएको छ । अघिलो वर्षमा ८ वटा ठूला उद्योग दर्ता भएका थिए भने यसवर्ष ५ वटा मात्रै दर्ता भएका छन् । २०७४ साउनदेखी पुुससम्ममा दर्ता भएका उद्योगहरुमा ६ हजार ७५६ जनाले रोजगारी पाएका थिए । यो वर्षको छ महिनामा दर्ता भएका उद्योगहरुमा ७ हजार ४४० जनाले रोजगारी पाउने छन् ।
२०७४ मा १२ अर्ब ३२ करोड ८० लाखको लागतमा ८ वटा उद्योग विभागमा दर्ता भएको थियो भने यस वर्ष ८ अर्ब २२ करोड ८० लाखको लागतका ५ वटा मात्रै ठूला उद्योग दर्ता भएको छ । २०७४ साउनदेखी पुुससम्ममा ८९ करोड ६० लाखको लागतमा ४ वटा मझौला उद्योग दर्ता भएको थियो भने यो वर्षको २ अर्ब १२ करोड १० लाखको लागतका १० वटा मझौला उद्योग दर्ता भएको छ ।
२०७४ साउनदेखी पुुससम्म ३ अर्ब ४६ करोडको लागतमा १५६ वटा साना उद्योग दर्ता भएको थियो । २०७५ को साउनदेखी पुुससम्म ३ अर्ब ८० करोड २० लाखको १८० वटा साना उद्योग दर्ता भएको छ । मझौला र साना उद्योगको लगानी घटेपनि संख्यात्मक हिसावमा भने बृद्धि भएको छ । अघिल्लो वर्ष मझौला ४ र साना उद्योग १५६ दर्ता भएका थिए भने यसवर्ष मझौला १० र साना उद्योग १८० दर्ता भएका छन् ।
उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, ”अघिलो वर्ष हाइड्रो दर्ता भएको थियो, यो वर्ष हाइड्रो दर्ता नभएकाले पनि उद्योगमा लगानी कमी भएको हो ।” लगानीको संख्या घटेपनि उद्योग स्थापनाको संख्या र रोजगारी पाउने संख्या भने बढेको महानिर्देशक सिंहले बताए ।