काठमाडौं । प्राय धार्मिक एवं सांस्कृतिक पर्व तथा मेलाले गुञ्जयमान हुने नेपाल पछिल्लो समय प्रविधिको विकासक्रमलाई पनि पछ्याउँदै गएको देखिन्छ । संसारमा जति छिटो प्रविधिको विकास भइरहेको छ, त्यही गतिमा दौडिन नेपाल पनि आफुलाई दरिलो बनाउँदै गइरहेको छ । यसको उदाहरण खोज्न अन्त कतै जानु पर्दैन । सन १९७२ मा स्थापना भएको ‘इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पस’ गए पुग्छ ।

पुल्चोक क्याम्पसले कति इन्जिनियर जन्मायो ?, उत्पादित जनशक्तिले मुलुकको पूर्वाधार निर्माण, प्राविधिक एवं रणनीतिक विकासमा कहाँ कति भूमिका खेल्यो भन्ने विषयको चर्चा तत्काललाई नगर्ने हो, र विद्यार्थीले विस्तार तथा विकास गरेकै उदाहरण हेर्ने हो भने उत्साहको बैंक भरिंदै गइरहेको छ ।

त्यस्ता उदाहरण खोज्न पनि अन्त जानै पर्दैन । पुल्चोक क्याम्पसको विद्युतीय अभियन्त्रण विभाग (अङ्ग्रेजीमा, डिपार्टमेन्ट अफ इलेक्ट्रिकल इन्जिनियरिङ)अन्तर्गतको संकाय र विद्युत तथा कम्प्युटर अभियन्त्रण विभाग (अंग्रेजीमा, डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ)अन्तर्गतको संकायका विद्यार्थीको संस्था ‘लोकस’ले आउने माघ २४, २५ र २६ गते आयोजना गर्न लागेको १६औँ राष्ट्रिय प्राविधिक मेला (अङ्ग्रेजीमा, सिक्सटिन्थ नेशनल टेक्निकल फेस्टिवल)मा सहभागि भए पुग्छ ।

यो पल्ट मेलाको मूल नारा वा (अङ्ग्रेजीमा, थिम) ‘ग्रामीण विकासका लागि प्रविधि’ राखिएको छ । पुल्चोक क्याम्पस ललितपुरमै हुने वृहद मेलामा स्थानीय तहका कार्यकारीहरु सहभागि हुनै पर्छ, र करलागि छ,–भनिएको छ । यो हामीले भनेको होइन, सोमबार मेलाको पूर्वसन्ध्यामा गरिएको पत्रकार भेटघाटमा आयोजकले भनेका ।

पत्रकार भेटघाटमा ‘लोकस’का प्रतिनिधिले ‘हामीले यो पल्टको प्रदर्शनी तथा मेला ग्रामीण क्षेत्रका मान्छेको जीवन सजिलो पार्ने र किसानका ‘टेन्सन’ कम गर्ने सन्दर्भमा केन्द्रीत गर्दै छौँ ।’

भौगोलिक विकटतालाई मध्यनजर गर्दै पुल्चोकको कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ संकायका विद्यार्थीले ‘ड्रोनाचार्य’को विकास गरेका छन् । जसको प्रदर्शनी मुख्य आकर्षण हुन सक्छ, किन भने प्रदर्शनीमा विद्यार्थीबीच हुने प्रतिस्पर्धामा ‘ड्रोनाचार्य’ पहिलो नम्बरमै राखिएको छ ।

यस्तै, रोबोवार्ज, रोबोलोकस, गेमिङ, प्रोजेक्ट कम्पिटिशन र कोड क्याम्प पनि प्रर्दनीका मूल ६ आकर्षणभित्रै राखिएका छन् । ग्रामीण क्षेत्रको विकासको जिम्मा लिएका स्थानीय सरकार मात्रै होइन, मेलामा प्लस टु, इन्जिनियरिङ तथा अन्य प्राविधिक क्षेत्रका विद्यार्थीलाई अनिवार्य आमन्त्रण गरिएको छ ।

प्रदर्शनी भन्ने वित्तिकै मान्छेले टिकट कति होला ? भन्ने पिर गर्छन् । त्यति धेरै सोच्नै पर्दैन । निःशुल्क मेला हेर्न पाइएपछि, अरु के चाहियो ? समय मिलाए पुगिहाल्यो । यो मेला छुटाउन हुँदैन भनेका छन्, आयोजकले । तीन दिने वार्षिक प्राविधिक कार्यक्रम अन्तर्गतको प्रदर्शनी एवं मेला विहान १० बजेदेखि ५ बजेसम्म लाग्ने छ, पुल्चोक क्याम्पस परिसरमै ।

के–के हुन्छ मेलामा ?
क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक सफ्टवेर, हार्डवेयर तथा इलेक्ट्रिकल कार्यक्रम हुने छन् । १०० बढी स्टल राखिने छन् । जहाँ पुल्चोक क्याम्पस मात्रै होइन, राजधानी बाहिरका पश्चिमाञ्चल क्याम्पस, हेटौडा स्कुल अफ म्यानेजमेन्ट लगायत सहभागि हुँदै छन् । काठमाडौंकै पनि नाम चलेका कान्तिपुर, एडभान्स, सेन्ट जेभियर्स, युनिग्लोब कलेजसहित ३०–४० को हाराहारीमा अन्तर कलेज सहभागिता रहनेछ ।

मिस नेपाल श्रृंखलासँग भेट
केही समय पहिले निकै चर्चा थियो श्रृंखला खतिवडाको । मिस वल्र्डको प्रतिस्पर्धा गर्दै गर्दा उनको चर्चा झन् चुलियो । यो बीचमा उनले गरेको अनुकरणीय कामको पनि खुल्ला चर्चा भयो । अहिले पनि उनको अभियान जारी छ । तर, पछिल्लो समय के गर्दैछिन्, उनी ? अब के गर्छिन्, त्यो जान्ने मौका खेर नफाल्ने हो, भने पुल्चोक क्याम्पसमा हुन लागेको मेलामा सहभागि भएको जाती ।

मिस नेपाल श्रृंखला मेलामा आउने दिन माघ २५ गते भनिएको छ । उनी किन सहभागि हुँदैछिन् ? भन्ने जिज्ञासाभित्र पुल्चोक क्याम्पससँग उनको पुरानो नाता छ । उनी पहिले त्यही क्याम्पस पढेकी हुन् । अनि, यो पल्ट प्रदर्शनीको नारा पनि उनको अभियान तथा सोंच सुहाउँदो राखिएको छ । उनले आफ्नो जन्म घर भएको जिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य केन्द्र बनाएर ग्रामीण विकासमा प्राविधिकको भूमिकालाई प्रष्ट्याइसकेकी छन् ।

कति होला खर्च ?
आयोजक ‘लोकस’का प्रतिनिधिका अनुसार यो मेलाको अनुमानित खर्च १८ लाख राखिएको थियो । योजना अनुरुप त्यतिनै जोह भने भएन । जेनतेन १५ लाख जम्मा भएको सुनाए, उनीहरुले । लक्ष्यअनुरुप तीन लाख अपुग भयो ।

विद्यार्थी आफैले जुटाए खर्च
पुल्चोक क्याम्पसको विद्युतीय अभियन्त्रण विभाग (अङ्ग्रेजीमा, डिपार्टमेन्ट अफ इलेक्ट्रिकल इन्जिनियरिङ)का विभाग प्रमुख डा. सुरेन्द्र श्रेष्ठले मेलाको खर्च विद्यार्थी आफैले जुटाएको बताए । उनका अनुसार क्याम्पसले नगदमा जम्मा २५ सय मात्रै सहयोग गर्न सक्ने हो । उनले भने, ‘हामीबाट हुने भनेको अन्य सहयोग । प्रदर्शनीको ठाउँ उपलब्ध गराउने, सरसामान प्रयोग गर्न दिने, विद्युत आपूर्ति र फर्निचरका सामान क्याम्पसमा भएकै प्रयोग गर्न दिने नै हो ।’ आयोजक ‘लोकस’का प्रतिनिधिहरु स्ववियुको सहयोगमा फण्ड जुटेको र विगतमा भएका कार्यक्रमहरु तथा केही दाताहरुबाट रुकम जुटेको बताउँछन् ।

अवलोकनको अपेक्षा
प्राविधिक मेलाको पोहोर ३० हजारले अवलोकन गरे । यो पल्ट केही बढ्ने अपेक्षा छ । भनेको, त्यही ४० हजार चानचुन । त्यहीबीच आयोजक र विभाग प्रमुखले मिडियाले प्रचार प्रसारमा चेप गरे अझै बढ्लान् कि भन्दै आशा व्यक्त गरे ।

के हो ‘लोकस’ ?
पत्रकारलाई बाँडिएको विज्ञप्ति अनुसार अङ्ग्रेजी संवत २००३ मा स्थापना भएको संस्था हो ‘लोकस’ । जहाँ पुल्चोक क्याम्पसमा अध्ययनरत कम्प्युटर, इलेट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ संकायका विद्यार्थीहरु आवद्ध छन् ।

लोकसको शाब्दिक अर्थ ‘आत्मसाथ गर्नुपर्ने मार्ग’ भनिएको छ । लोकसले यसरी प्रदर्शनी गर्न लागेको १५ वर्ष पुगिसक्यो । यो पल्ट १६औँ प्रदर्शनी गर्दै छ । पहिले क्याम्पसभित्रको एउटा क्लवको हैसियतमा रहको ‘लोकस’ले यो वर्षदेखि नेपाल सरकारबाट मान्यता प्राप्त संस्थानै बनेको छ । विधिवत रुपमा दर्ता भएको छ । कम्पनीमा, प्यानमा, जिल्ला प्रशासनमा । पत्रकार भेटघाटमा विद्युतीय अभियन्त्रण विभागका विभागीय प्रमुख डा. सुरेन्द्र श्रेष्ठले उसो त, ठट्यौली पनि गरे, ‘नेपालमा नावालिक नागरिकतै पाउन पनि १६ वर्ष पुग्नु पर्छ । त्यस्तै, यो लोकसले पनि नागरिकता पाउन १६ वर्ष लाग्यो । यो पल्ट नागरिकता पायो भनौँ ।’

डा. श्रेष्ठले वारम्बार आयोजक तथा आफ्ना विद्यार्थीलाई सम्झाइरहे ग्रामीण क्षेत्रका कष्टहरुलाई कसरी सहज बनाउन सकिन्छ, त्यसको स्मार्ट समाधान खोज्ने कार्यमा तल्लीन हुनोस्, आफ्नो क्षमता बढाउनोस् । आशा गरौँ, प्रविधिको तिब्र विकासक्रमले अहिले विश्व एउटै गाउँ बनेको छ, त्यसरी नेपालको हिमाल, पहाड र तराईलाई ‘पुल्चोक’का विद्यार्धीले एउटै पुलले जोड्ने छन् ।

थप जान्नु परे विज्ञप्ति हेर्नुहाेस्