काठमाडौं । युएईविरुद्धका दुई ऐतिहासिक श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । युएईमा ऐतिहासिक सफलता हात पारेर स्वदेश फर्र्किएको टोलीलाई रातो गलैचा अथवा रेडकार्पेट ओछ्याएर स्वागत गरिएको हो ।

विमानस्थल अवतरण गर्नुअघि नै त्रिभुवन विमानस्थलबाहिर क्रिकेट समर्थक र नेपाली खेलप्रेमीको भीड लागिसकेकाे थियो । राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडीहरु विमानबाट ओर्लिएर आगमन कक्षमा पुग्नेवित्तिकै समर्थकको भीडले घेरिए ।

समर्थकले खेलाडी र नेपाली क्रिकेटको नाम लिँदै जयजयकार गरे । नेपालले यूएईविरुद्धको एकदिवसीय र टी–ट्वेन्टी क्रिकेट शृंखला दुवै जितेको थियो । नेपाली टोलीले यसअघि एकदिवसीय र टी–ट्वेन्टी ढाँचाका श्रृंखला जित्न सकेको थिएन । यो सँगै पोहोर मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको बरियतताको उच्च मूल्याङ्कनमा परेको छ ।

सरकारले भव्य सम्मान गर्ने
नेपाली क्रिकेटलाई ऐतिहासिक सफलता दिलाउने राष्ट्रिय क्रिकेट टोलीलाई सकारले भव्य सम्मान गर्ने भएको छ । नभन्दै राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले युएईमा एकदिवसीय र टी–ट्वेन्टी श्रृंखला जित्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गरेको छ ।

एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो पटक श्रृंखला जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ५ लाख दिन राखेपले सरकारलाई सिफारिस गरेको हो ।

‘नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा प्राप्त गरेको सफलतालाई सम्मान गर्दै प्रत्येक खेलाडीलाई जनही ५ लाख दिन युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेका छौ’ राखेप सदस्य सचिव केशव कुमार विष्टले भने ।

उनले अगाडि थपे, ‘सिफारिस पत्र मन्त्रालयमा पठाएका छौ । सरकारले आवश्यक निर्णय गर्नेछ ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई बधाई दिँदै उचित सम्मानको संकेत गरिसकेका छन् ।