काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देश विदेशमा बस्ने नेपालीलाई चन्द्रपात्रोअनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारको शुभकामना दिएकी छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने उल्लेख गरेकी छन् ।
राष्ट्रपतिको सन्देशमा, ‘नेपालसहित सिङ्गापुर, मलेशिया, भारत, थाइल्याण्ड, मङ्गोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवद्र्धधनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु’ भनी लेखिएको छ ।
राष्ट्रपतिले यो पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमङ्गका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासमेत गरेकी छन् । चाडपर्वले सामाजिक सद्भाव बढ्छः उपराष्ट्रपति यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।
तामाङ समुदायको सोनाम ल्होछार २८५५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले कुकुर वर्ग (वर्ष)को बिदाइ र सुँगुर वर्ग (वर्ष)को स्वागत गरेर मनाइने सोनाम ल्होछारका अवसरमा सम्पूर्ण तामाङ समुदायको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।