काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताएका छन् । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताएका हुन् ।
प्रधानमन्त्रीले सन्देशमा, ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ’ भनी लेखेका छन् । वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उनले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भनेका छन्, ‘हाम्रा सांस्कृतिक पर्व, वेशभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पुग्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ’ ।
सद्भाव अभिवृद्धि गर्न सकोस्ः देउवा
यसै उपलक्ष्यमा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
उनले विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् । यस पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा उल्लेख छ ।