महोत्तरी । भनिन्छ जिवनको आधार पानी हो । तर, त्यही आधार नै छुटाइदिएपछि जलेश्वर नगरपालिकाका आधा उपभोक्ता खानेपानीबाट बञ्तित भएका छन् । यो समस्या भर्खरको हैन, तीन महिनादेखि भोगिरहेका छन् ।

एक हजार १८१ उपभोक्ता रहेको उक्त नगरपालिकामा खानेपानीको वितरण नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट भएको छ । जसमध्ये ६०० बढि उपभोक्ताले लिएको धाराको लाइनमा पानी हैन, हावाको सुईसुई मात्रै सुनिन्छ । उपभोक्ता भन्छन्, ‘तीन महिनादेखि टुटिमा आएको हावाको सुईसुई कहिले रोकिने हो खै ।’

नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा ग्राहक बनेका प्रत्येक घरधुरीमा विगत तीन महीनादेखि खानेपानीको आपूर्ति नभएकाले उपभोक्ता पानीको अभावमा काकाकुल भएका छन् । जलेश्वर–२ का गोरेबाबा साह भन्छन्, ‘खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङ जस्ता स्रोतबाट पानी खान बाध्य छौँ ।’ । विगत तीन महीनादेखि पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुन र वस्तुभाउलाई खुवाउनसमेत निक्कै समस्या भयो । यो काकाकुल कहिलेसम्म, जलेश्वर– ५ का विवेक साहको गुनासो हो यो ।

तर, संस्थानका प्रशासन प्रमुख अजयकुमार प्रसाद भन्छन्, ‘नगरपालिकाको मुख्य बाटो भएर शहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्स्ट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लाग्दा खानेपानीको पाइप ठाउँ ठाउँमा बिग्रेकाले कार्यालयले ठाउँ ठाउँमा पानीको आपूर्ति रोक्नुपरेको हो ।’ नाला निर्माणका लागि ह्युम पाइप राख्न स्काइभेटरले बाटो खन्दा ठाउँ ठाउँमा खानेपानीको ६ इन्च र ८ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेको उनको भनाइ छ ।

खानेपानी कार्यालयले नगरपालिका प्रमुख रामशङ्कर मिश्र र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई खानेपानी उपभोक्ताको समस्या बारेमा जानकारी गराउँदा ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने बताए । तर, उनले त्यसरी पाइप फुटाएर अलपत्र छोड्नेलाई के कारर्वाही हुन्छ भन्नेबारे केही बताएनन् ।