काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनै पर्ने भनेपछि विवाद भएको छ । गएको माघ १० गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा काम गर्न भारतीय श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भन्दै सबै श्रम कार्यालयहरुलाई चिठ्ठी लेखेको थियो । तर, सञ्चार माध्यममा विभागले निकालेको सूचनाबारे समाचार प्रकाशन भएपछि श्रम मन्त्रालय भने तर्सिएको छ ।
मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भनी विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएक छ । मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भएको हो भन्नेबारे वुधबार स्पष्ट पार्ने सहसचिव घिमिरेले बताएका छन् । यसबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो ? यदि साँचो हो भने कस–कसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानविन गरी सत्य तथ्य बाहिर ल्याउने घिमिरेले जानकारी दिएका छन् । वुधबार यो विषयमा स्पष्ट पार्ने भन्दै उनले कुनै भ्रममा नपर्न भनेका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका कारखाना निरीक्षक प्रशान्त शाहले हस्ताक्षर गरेको पत्रमा ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन’ भनिएको छ । साथै प्रतिष्ठानको नाम, कार्यरत गैर नेपाली श्रमिक भए उनीहरुको नाम, पदसहितको विवरण पनि मासिक रुपमा विभागमा पठाउन श्रम कार्यालयहरुलाई निर्देशन दिइएको छ ।
नेपालमा ठूलो संख्यामा भारतीय नागरिकहरु बिना श्रम स्वीकृति कार्यरत छन् । खुला सीमानाकाका कारण सहजै नेपाल आउन सकिने भएकाले भारतीयहरुका लागि नेपाल सहज श्रम गन्तब्य बनेको छ । नेपालका विभिन्न कलकारखाना, होटल, प्रतिष्ठान, विकासे आयोजना, कार्यालयमा ठूलो संख्यामा भारतीय श्रमिक कार्यरत छन् ।