काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको ३.२ मेगावाटको गेलुङ खोला जलविद्युत आयोजनाले अबको एक सातामा ड्राइ टेष्ट (उपकरण परीक्षण) सुरु गर्ने भएको छ । लामो समयदेखि अलमलमा परेको आयोजनाको माघ अन्त्यबाट उपकरण परीक्षण गर्न लागिएको हो ।
उपकरण परीक्षण गरेको केही दिनमै परीक्षण उत्पादन सुरु गरिने गेलुङ खोला हाइड्रोपावर कम्पनीका निर्देशक रबिन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार फागुन पहिलो साताबाट परीक्षण उत्पादन गर्ने तयारी भइरहेको छ ।
एक वर्षअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि भुकम्प, पहिरो र स्थानीय अवरोधले आयोजना प्रभावित हुँदा उत्पादन अवधि लम्बिएको कम्पनीले जनाएको छ । उत्पादन सुरु गर्न भएको ढिलाइका कारण आयोजनाको लागत बढ्दै गएकाले अब बिना अवरोध काम हुने पनि उनले बताए ।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेसनमा लगेर जोडिनेछ । ३.२ मेगावाटको आयोजना सम्पन्न गर्न ७५ करोड रुपैयाँ खर्च भएको छ । सुरुवातमा ५२ करोड रुपैयाँमा सम्पन्न गर्न अनुमान गरिएकामा भूकम्पपछि आयोजनाको डिजाइन परिवर्तन गर्नु परेकाले लागत बढेको कम्पनीको दाबी छ ।