काठमाडौँ । वाग्मती सफाइ महाअभियान शुरु भएको आउने शनिबार ३०० हप्ता पूरा भएको विशेष कार्यक्रमको तयारीका लागि विभिन्न सङ्घसंस्थालाई जिम्मेवारी दिइएको छ ।

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहको अध्यक्षतामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सफाइ अभियानकर्मी लगायतको बैठकले मुख्य मञ्च निर्माणसहित ‘साउण्ड सिस्टम’ जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय गरेको छ ।

यसैगरी मुख्य प्रवेशद्वार निर्माण मुक्तिनाथ विकास बैंकले गर्ने छ । अभियानकर्मी माला खरेलको नेतृत्वमा मञ्च सजावट, निर्मला केसीको संयोजकत्वमा स्वयंसेवक परिचालनको जिम्मेवारी तोकिएको हो । माघ २६ गते शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने ३००औँ हप्ताको विशेष समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

आलोकनगर र युएन पार्कमा जम्मा भई सफाइ अभियानकर्मी जनजागरण रयालीसहित मूल कार्यक्रमस्थल शङ्खमूलमा जम्मा हुनेछन् । बैठकमा सचिव सिंहले उपत्यकाका नदी सफाइका लागि नीतिनिर्माण गरी कार्यान्वयन, ढल व्यवस्थापनलाई मन्त्रालयले प्राथमिकता दिएको सुनाए ।

विशेष कार्यक्रममा उपत्यकाका विभिन्न स्थान र उपत्यकाबाहिर समेत गरी १०२ स्थानका सफाइ अभियानकर्मी राजधानीको मूल कार्यक्रममा सहभागी हुने जनाइएको छ ।