काठमाडौं । विहिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरनै पश्चिमी वायुको प्रभाव देखिएकाले मौसम सामान्यदेखि पूर्ण बदली भई पानी परेको हो ।

विहिबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र शुक्रबारसम्म मौसममा यस्तै गडबडी भइरहने मौसमविद बरुण पौडेलले बताएका छन् । विहिबार पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यमस्तरको पानी पर्ने सम्भावना छ । यस्तै, पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा बिहीबार ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम स्तरको हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमका केही उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।मौसमविद पौडेलका अनुसार यसपटक पश्चिमी वायुसँगै आएको मौसमी प्रणाली बलियो देखिएकाले केही दिन मौसम बदलीकै अवस्थामा रहने देखिन्छ ।

वायुमा जलवाष्पको मात्रा बढी रहेकाले बिहीबार र शुक्रबार मध्य र पश्चिमका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्ष अर्थात ५० मिलिलिटर भन्दा बढी वर्षा हुने देखिएको छ । पश्चिमका क्षेत्रमा बुधबार रातिदेखि नै पानी परेको छ । वायु बिस्तारै मध्य हुँदै पूर्वी क्षेत्रमा सर्दै गएकाले बिहीबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका मध्य क्षेत्रमा पनि बदली तथा वर्षा भएको हो । मौसमी प्रणालीको प्रभाव दिउँसोसम्ममा पूर्वमा पनि पूर्णरुपमा पुग्ने र बेलुकातिर पूर्वका पहाडी तथा तराईका क्षेत्रमा पनि पानी पर्ने मौसमविद पौडेलले बताए ।

यो वर्षको हिउँदमा चौथो पटक पश्चिमी वायुका कारण मौसमी प्रणाली भित्रिएको हो । यसपटकको प्रणाली प्रभावकारी रहेकाले शनिबारदेखि पश्चिमबाट मौसम खुल्दै जाने भएकाले पूर्ण रुपमा मौसम खुल्नका लागि आइतबारसम्म नै पर्खिनु पर्ने उनले बताए ।