काठमाडौं । वैदेशिक रोजगारीबाट विदामा आएका कामदारहरुले श्रम स्वीकृतिका लागि अब काठमाडौं धाइरहनुपर्ने बाध्यता टरेको छ ।

सरकारले पुनः श्रमस्वीकृति सेवा सबै प्रदेशमा विस्तार गरेसँगै नेपाली कामदारले श्रम स्वीकृतिकै लागि केन्द्रीय राजधानी अथवा काठमाडौ धाउनु पर्ने बाध्यता हटेको हो । वुधबार मात्रै सरकारले सबै प्रदेशमा श्रम कार्यालय विस्तारको काम टुंग्यायो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ बाट प्रदेश २ र ५ मा सुरु गरेको पुनः श्रम स्वीकृति सबै प्रदेशमा विस्तार गरेको छ । प्रदेश तहमा सेवा विस्तारसँगै अब श्रम स्वीकृति र बीमा बाहेक नै प्रतिकामदार औषत १० हजारभन्दा बढी बचत हुनै भएको छ ।

यसअघि विदेश जाने कामदार श्रम स्वीकृतिका लागि विदेश जानु भन्दा एक हप्ता पहिले काठमाडौं आएर भोकभोकै रातभर लाइनबस्नु पर्ने बाध्यता थियो । पुनः श्रम स्वीकृति सेवालाई विकेन्द्रीकरण गर्ने योजना अनुसार वुधबारदेखि अन्य ६ वटा प्रदेशमा सेवा विस्तार भएसँगै ग्रामीण क्षेत्रमा रहेका युवालाई अब खर्च र समय खेर फालेर काठमाडौँ धाइरहनु परेन । हाइसन्चो त, वैदेशिक रोजगार विभागलाई हुने भएको छ ।

वार्षिक औषत २ लाख ५० हजार नेपालीले आवेदन दिने पुनः श्रम स्वीकृति प्रणाली प्रदेशमा पुगेसँगै वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलमा भीडभाड घट्ने छ, अनि हाइसन्चो भएन त ?

मन्त्रालयले सुरुमा प्रदेश ५ को बुटबल र प्रदेश २ को जनकपुरबाट सेवा सुरु गरेर क्रमैसँग कर्णाली प्रदेशको सुर्खेत, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीसम्म विस्तार गरेको थियो । वुधबारबाट प्रदेश १ को विराटनगरबाट पनि यो सेवा सुरु भएको छ । र, अब वैदेशिक रोजगार विभागको सेवा प्रदेश–प्रदेशमा पुगेको छ ।