रुकुमकोट । रुकुम पूर्वको जिल्ला सदरमुकाम गोलखाडा हुनुपर्ने माग राख्दै आन्दोलित पुथाउत्तरगंगा गाउँपालिकाका स्थानीय सीडीओलाई ज्ञापन पत्र नबुझाएरै फर्किएका छन् ।
पाँच दिन हिडेर रुकुमकोटको सिमाना भूमे–५ धौरापहिरा पुगेर कोण सभा गरेका उनीहरु सीडीओलाई ज्ञापनपत्र नबुझाई फर्किएका हुन् । प्रशासनले चार किल्ला तोकेर निषेधित क्षेत्र तोकेकाले गोलखाडामा केन्द्र हुनु पर्ने माग राख्नेहरु अघि बढ्न पाएनन् ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाउने तयारीका साथ करिब ६ हजार बढी स्थानीय धौरापहिरा पुगेका थिए । तर, प्रमुख जिल्ला अधिकारी ज्ञापन पत्र बुझन नआएपछि उनीहरु कोणसभा गरेर फर्किएका हुन् । खोलखाडा पक्षधरले आफ्नो क्षेत्रमा रहेका सरकारी कार्यालय हटाउने चेतावनी दिएका छन् ।
रुकुम पूर्व जिल्लाका सीडीओ मित्रलाल शर्माले भने आफु आन्दोलन भइसकेको क्षेत्रमै पुगेपनि ज्ञापनपत्र बुझाउन कोही नआएको बताएका छन् । निषेधित क्षेत्र घोषणाको निर्णय भने, विवाद साम्य नहुँदासम्म फिर्ता नलिने सीडीओ शर्माको भनाई छ ।
गएको आइतबार साँझदेखि निषेधित क्षेत्र तोकिएको रुकुम पूर्वको रुकुमकोटमा प्रशासनले थप सुरक्षाकर्मी परिचालन गरेको छ । सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लोरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।