काठमाडौं । पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला (अङ्ग्रेजीमा, सिक्सटिन्थ नेशनल टेक्निकल फेस्टिवल)सुरु भएको छ । ‘ग्रामीण विकासका लागि प्रविधि भन्ने’ मूल नारा दिइएको तीन दिने मेला अर्थात् प्रदर्शनी विहिबारबाट सुरु भएको हो । मेला शनिबारसम्म चल्ने छ । तर, यो मेलालाई मौसमले भने साथ दिएन ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा राखिएको मेलामा पहिलो दिन पानीका कारण सहभागिता उत्साहसजन रहेन । मौसमले साथ दिए शुक्रबार र शनिबार अवलोकनकर्ता बढ्ने आयोजक संस्था ‘लोकस’ले जनाएको छ । ‘लोकस’ पुल्चोक क्याम्पसको विद्युतीय अभियन्त्रण विभाग (अङ्ग्रेजीमा, डिपार्टमेन्ट अफ इलेक्ट्रिकल इन्जिनियरिङ)अन्तर्गतको संकाय र विद्युत तथा कम्प्युटर अभियन्त्रण विभाग (अंग्रेजीमा, डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ)अन्तर्गतको संकायका विद्यार्थीको संस्था हो ।
मेलाको सुभारम्भ आईओई डिन प्रोफेसर रामचन्द्र साफकोटाले गरे । मेलामा १०० बढी स्टल राखिएका छन् । जसमा ७८ स्टल, प्रोजेक्टकै छन् । प्रतिष्पर्धात्मक ढाँचामा राखिएका प्रोजेक्टमा पुल्चोक क्याम्पसकै इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ संकायका विद्यार्थी र बाहिरका कलेजबाट सहभागि विद्यार्थीहरुले विकास गरेकाहरु छन् ।
बाँकी २९ ओटा प्रायोजक संस्थाका स्टल छन् । मेलामा काठमाडौं उपत्यका बाहिरबाट पाँच वटा कलेजले सहभागिता जनाएका छन् । ग्रामीण विकासलाई मूल विषय बनाएको मेलामा अत्याधुनिक कृषि औजारहरु, एग्रो डक्टर, अटोमेटिक फार्मिङ्, ट्राभल सफ्टवेयर, कृषि सफ्टवेयर प्रदर्शनीमा राखिएका छन् ।
यस्तै, रोबोटहरु र रक्तदान एप्लीकेशन पनि राखिएको छ । पोहोरको मेलामा ३० हजारले अवलोकन गरेकामा यो पल्ट झण्डै ४० हजारले अवलोकन गर्ने आयोजक संस्थाले जनाएको छ ।
मेलाको उद्घाटन समारोह
धान रोप्ने, बीउ छर्ने र आली लगाउने मेसिन
ट्राफिक सोलुसनबारे जानकारी रोकर ब्रजर अटो फार्मिङ