मनाङ । हिमाल पारीको जिल्ला भनिन्छ मनाङलाई । केहीदिन पहिले सेताम्य भएकाे मनाङ दिन चारएक घमाइलै भयाे । तर, त्यो घमाइलो एक हप्ता पनि टिकेन । वुधबार मौसममा गडबडी आयो । भोलिपल्ट बिहीबार एक्कासी हिमपात भईतहाल्यो । सबैतिर हिउँले ढाकेपछि मनाङीहरु घरभित्र थन्किएका छन् । वुधबार रातिदेखि प्राय सबै ठाउँमा हिमपात भएकाे स्थानीयले बताएका छन् ।
यसअघि हिमपातमात्रै भएको थियो । तर, विहिबार चामेदेखि तल्लो क्षेत्रमा हावाहुरीसँगै पानीसमेत परेपछि अझ कष्ट भो, भन्छन् स्थानीय । मनाङको प्रदेशसभा क्षेत्र ‘ख’ बाट निर्वाचित राजिव गुरुङ ‘दीपक मनाङे’ले केही दिन पहिले सपथ लिएपछि तातिएको मनाङ बाक्लो हिउँपरेसँगै बरफ भएको छ । प्रदेश सांसदको होलोग्राम लगाएका मनाङ्गे त तातिएकै होलान्, पोखरा अथवा आसपासतिर । तर, मनाङमै बस्नेहरुको बेहाल भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार यसअघिको हिउँ करिब १ फिट बाँकी रहँदा फेरि बिहीबार १ फिट बढी हिमपात भएको छ । मनाङमा १० दिन लगातारजसो हिमपात भएर करिब ४ दिन रोकिएको थियो । हिमपातका कारण चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बाटोमै रोकिएका स्थानीयले बताएका छन् । उनीहरुका अनुसार माथिल्लो मनाङ कटेर थोराङला पास हुँदै मुस्ताङ जान सकिएको छैन । सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म चामे मनाङका प्रहरी डीएसपी निलकमल आचार्यले हिमपातका कारण सुरक्षाकर्मीसमेत बाहिर निस्कन नसकेको बताएका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार हिमपातसँगै पानी, पानी सँगैको हिमपातले जनजीवन कष्टकर भएको छ । यसअघि बजारसम्म खुलाइएको बाटो पनि बुधबार राति र बिहीबारको हिमपातले पुरिदिएको छ । अत्यधिक चिसोले बिहानपख तापक्रम माइनस १५ डिग्री सेन्टीग्रेटसम्म झरेको थियो । राति माइनस २० डिग्री सेन्टीग्रेटमा झरेको उनले बताएका छन् ।