काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङको राजीनामालाई सरकारले एक स्वभाविक घटनाको रुपमा लिएको जनाएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुुल बास्कोटाले भने, ‘स्वइच्छाले कुनै पनि व्यक्ति आफ्नो पदबाट राजीनामा दिन स्वतन्त्र हुन्छ। सरकार त्यसलाई अस्वभाविक मान्दैन।’

मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगको म्याद माघ २६ गते सकिएको हो । आयोगको म्याद एक वर्ष थप गर्ने विधेयक संसदमा पेश गरे लगत्तै आयोगका अध्यक्ष गुरुङ सहित आयोगका अर्का सदस्य लिला उदासीले राजिनामा गरेको तर आयोगका तर्फबाट पुष्टि हुन अगावै मन्त्री बास्कोटाले यसबारे प्रतिक्रिया दिएका हुन्।

यस्तै वाइड बडी प्रकरण बारे मन्त्री बास्कोटाले भने, ‘वाइड बडी भ्रष्टाचार प्रकरण छानबिन अगाडी बढेको छ, सत्यतथ्य बाहिर ल्याउन सरकार प्रतिबद्ध छ।’

यस्तै मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी काम पुरा नगरी हिडेको प्रसङगमा मन्त्री बास्कोटाले भने, ‘‘ठेक्का लिएको कम्पनीले काम पुरा गर्नुपर्छ भन्ने मान्यतामा सरकार छ। तर उनीहरुले त्यो काम पुरा नगरे पनि सकारको खर्च खेर जाँदैन।’