काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न जिपिएस उपकरणसहित सर्भेयर टोली पठाउने तयारी गरेको छ । उपकरणसहित सगरमाथाको शिखर चढ्ने प्राविधिक कर्मचारी छनोट र तालिमको लागि नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मा दिएको छ ।
यो प्रतिष्ठान संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत छ । टाङटाङमा आरोहण अभ्यास गरेर सगरमाथाको उचाइ नाप्ने टोली चैत पहिलो हप्ता शिखर चढ्ने प्रतिष्ठानका सूचना अधिकारी उत्तमबाबु भट्टराईले बताए । उनका अनुसार आउने वैशाखमा उचाइ नाप्ने टोलीको आरोहण सफल भएमा बाँकी तथ्याङ्क प्रशोधन गरेर मंसिरसम्म सरगरमाथाको नयाँ उचाई तय हुने छ ।
सगरमाथा आरोहणका लागि मात्रै नापी विभागले ६० लाख रुपैयाँ छुट्याएको छ । सन् १९५४ मा नेपालको स्वीकृति लिएर भारतको सर्भे अफ इन्डियाको टोलीले सगरमाथाको उचाई नापेको थियो । भारतकै सर्भे टोलीकै नापलाई आधार मानेर अहिलेसम्म सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर भनिँदै आइएको छ । त्यसपछि ६ पटक सगरमाथाको उचाइ नापियो, तर नेपाल सहभागि भएन ।
चीनले दुई पटक, इटालीले दुई पटक, अमेरिका र डेनमार्कले एक–एक पटक सगरमाथाको उचाई नापे पनि नेपालले मान्यता दिएन । तर, छिमेकी चीनले सगरमाथाको उचाई घटेको भनेपछि नेपाल आफैले पहिलो पटक सगरमाथाको उचाई नाप्न लागेको हो । यसका लागि सरकारले यो वर्ष मात्रै १५ करोड बजेट विनियोजन गरेको छ ।