काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार पनि देशका अधिकांश भागमा पानी पर्ने जनाएको छ । मौसमविद सुजन सुवेदीले देशका अधिकांश भूभागमा सामान्यदेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले घरबाहिर निस्किँदा छाता वा रेनकोट बोक्नै उपयुक्त हुने बताए ।

उनका अनुसार मुलुकभरी दिनभर सामान्य देखि पूर्ण बदलीकै अवस्था रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।

बुधवारदेखि बदली भएको मौसम शनिबारसम्म लगभग यस्तै अवस्थामा रहने पनि महाशाखाले जनाएको छ । भोलिसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद सुवेदीले बताए । उनले पश्चिमी वायुको प्रभावले बदली र वर्षा भएको बताए ।