काठमाडौं । मेलम्ची आयोजनाले इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडेको छ । काममा फर्किन दिइएको १४ दिनको समयसीमा गुज्रिएपछि मेलम्ची खानेपानी आयोजनाले सीएमसीलाई औपचारिक रुपमा विदाई गरेको हो ।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।

अहिलेको अवस्थामा ठेक्का नतोड्दा थप अन्योल हुने र बैंक ग्यारेन्टी पनि गुम्ने खतरा देखिएपछि ठेक्का तोडिएको बताउँदै उनले मेलम्चीमा अहिले काम गरिरहेकै सब–कन्ट्राक्टर र भेण्डरहरुलाई नै प्रयोग गरेर अघि बढ्न सकिने सुनाए ।

सकारले गएको माघ ६ गते १४ दिनभित्र काममा फर्किन सक्ने गरी पत्राचार गरेको थियो । तर, अन्तिम म्याद भनिएको सोमबारसम्म सीएमसी काममा नफर्किएपछि ठेक्का रद्द गरिएको कँडेलको भनाई छ । मेलम्ची आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे आयोजना अनिर्णित छ । अब सरकारले गर्ने निर्णयका आधारमा मात्रै आयोजनाको काम अघि बढाइने कँडेलले बताए ।

खानेपानी मन्त्रालयले सीएमसीसँग वार्ता गर्न भन्दै यो बीचमा एउटा सरकारी टोलीलाई थाइल्यान्ड पठाएको थियो । तर, त्यो वार्तामा सीएमसी अहिलेकै अवस्थामा काममा फर्किन सहमत भएन ।

सीएमसीलाई दिइएको ठेक्का रद्द गरेपछि मेलम्चीको पानी भित्रिने समय अझ पछाडि धकेलिने चिन्ता सरोकारवालाहरुको छ । जलस्रोतका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार विकास थापाले यो ठेक्का रद्द प्रकरणले मेलम्ची पर धकेलिएको बताएका छन् । उनका अनुसार यसमा कमिसनको खेलले सरकारी पदाधिकारीलाई भ्रष्ट बनाएको हो ।