ललितपुर । सामुदायिक विद्यालयको गूणस्तर लागि सरकारले लगानी बढाए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्यामा भने कमी देखिएको छ । आकर्षण कम देखिएको छ ।
महालक्ष्मी नगरपालिकाका स्थानिय बालबालिकामा सामुदायिक विद्यालयप्रति आकर्षणमा कमी देखिएको छ । नगरपालिकाका बासिन्दाको आर्थिक अवस्था सुदृढ भएसंगै सामुदायिक विद्यालयको तुलनामा धेरैजसो अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएका हुन् ।
निजीमा विद्यार्थीलाई कडा नियम, प्रत्येक दिन विद्यालय अनिवार्य उपस्थित गराउने मनोवृत्ति, आवश्यकभन्दा बढी अतिरिक्त क्रियाकलापको सुविधा, आकर्षक किसिमको विद्यालय भौतिक संरचनाले निजीमा सकारात्मक प्रभाव पार्न सफल भएको महालक्ष्मी नगरपालिका सामुदायिक विद्यालयका स्रोतव्यक्ति राजेन्द्रविक्रम कार्कीले जानकारी दिए ।
महालक्ष्मी वडा नं १ देखि ४ सम्म इमाडोल क्षेत्र पर्छ । इमाडोलका–१० प्रतिशत, वडा ५ टिकाथलीका २० प्रतिशत, वडा नं ६ सिद्धिपुरका १५ प्रतिशत, वडा नं ७ चापाथली २५ प्रतिशत, वडा नं ८ लुभूका २५ प्रतिशत, वडा नं ९ लामाटारका ५० प्रतिशत र वडा नं १० लाकुरीभञ्ज्याङका ९५ प्रतिशत बालबालिका त्यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
“एकको देखासिखीमा अर्काले निजी विद्यालयमा छोराछोरी पढाउने क्रम बढ्दै जाँदा यो विद्यालयप्रति स्थानीय व्यक्तिको मनोवृत्ति घटेको हो,” कार्कीले भने ।
नेपालका ७७ जिल्लाबाट बसाइँसराइ गरेर त्यहाँ आएका बढीभन्दा बढी बालबालिका महालक्ष्मीको सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । स्थानीय तह गठन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन विभिन्न पहलको शुरुआत भइरहेको छ । तर, त्यहाँका शिक्षक तथा बालबालिकाको समस्या विचार गरी आवश्यक सुधार गरेमा पक्कै यी विद्यालयप्रति आकर्षण बढ्ने जानकार बताउँछन् ।