काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक कचिङ्गल बाहिर पोखिन थालेको छ, त्यो पनि शीर्ष तहबाटै । पार्टी एकता होस् वा सरकार सञ्चालन । नेकपामा अहिले पनि दुई धार प्रष्टै देखिएको छ, निवर्तमान एमाले र निवर्तमान माओवादी केन्द्र ।

यसको उदाहरण खोज्न धेरै अघिका बैठक वा छलफलका नतिजासम्म पुग्नै पर्दैन । केही दिन यता दुई पार्टीका शीर्ष दुई नेता अथवा अध्यक्षको जुहारी हेर्दा थाहा भइहाल्छ । त्यतिले पुष्टि भएन भने, पार्टी एकताका लागि गठित ‘वादल’ कार्यदलमा देखिएको मनमुटाव हेरे भइहाल्यो ।

सचिवालय बैठकले ‘जे जस्तो अवस्थामा छ, प्रतिवेदन बुझाउनू’ भनेपछि बसेको कार्यदल बैठकमै अधिकांश कार्यदल तर्किएर हिँडे । अधुरो मस्यौदामा हस्ताक्षर गर्दैनम् भन्ने अडान हो, उनीहरुको । सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’ नेतृत्वको ९ सदस्यी कार्यदलभित्रको कचिङ्गलको कुरा हो यो । त्यही कार्यदलमा भएका केही सदस्यहरुले भनेका छन्, हामीलाई हेप्ने काम भयो ।
नेकपा भित्रभित्रै आगो सल्किरहेको कुरा थाहा पाउन बालुवार वा खुमलटार जानै छिर्नै पर्दैन । दुई पार्टी अध्यक्षले सार्वजनिक ठाउँमा बोलेका कुरा सुने पुगिहाल्यो । हावा नचलि पात हल्लिदैन भन्ने लोकोउक्तिलाई लिने हो भने पनि मन नदुःखि कोही डाँको छोडेर रुँदैन । नेकपाकै एक जना वुद्धिजीवि जहिल्यै पात हल्लाउन हावै चल्नु पर्दैन कहिलेकाँही रुखको फेदमा बसेर पनि पात हल्लाउन सकिन्छ भन्ने तर्क गर्छन् । उनकै भनाईलाई मान्ने हो, भने पनि कि प्रचण्डले रुखको फेदमुनि बसेर पात हल्लाईरहेका छन्, कि प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी ओलीले ।

नभए दुवै जनाले बोलेको कुराको अर्थ के भनेर लगाउने ? झगडै परेछ भन्ने कि, यत्तिको भइहाल्छ भन्ने ? अथवा आम नागरिकलाई बेवकुफ बनाएको भन्ने ? खै के भन्ने ? हुँदा–हुँदा अध्यक्ष प्रचण्डले सरकारले नै शान्ति सम्झौता र संविधानको मर्म विपरित कदम चालेको भन्न भ्याए । यस्तै हो, भने अर्को माओवादी जन्मिन्छ समेत भने ? प्रचण्डले भन्ने खोजेको के ? कसलाई घुक्र्याएको ? आफ्नै पार्टीको नेतृत्वमा भएको सरकारबारे यति सस्तो प्रचारमा किन उत्रिए, प्रचण्ड ? आफैमाथि किन किन चोर औँला तेस्र्याएको ?

शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फस्ने चेतावनी कस्लाई दिएको ? आफ्नै सरकारलाई ? कि छाँया सरकारलाई ? काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले, ‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गरेका थियौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ । परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’ भने । यस्तो चेतावनीपूर्ण भाषा कसका लागि खर्चिएको ? उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भटाभट अगाडि बढाउन थालेकोमा चिन्ता गरे । यहाँनेर नबुझिएको कुरा, उनी आफ्नै सरकारसँक किन डराए ? हिजोको सामन्ती निरंकुशतन्त्रले विभेदमा पारेकाहरुलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले सुनाए ।

तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए । यहाँनेर पनि के भन्न खोजिएको हो, उनले प्रष्ट पारेनन् । मेलैसँग उनले कसमाथि भँडास पोखेको भन्ने कुरा प्रष्ट पारेनन् । त्यसैले धेरैले उनको सरकार र पार्टीभित्र निकै खटपट भएको रुपमा अथ्र्याए । मूल कुराः मुटु काँप्ने यो जाडोमा प्रचण्ड किन यत्ति धेरै गरम ? जाडोमा यत्तिधेरै बढेको तापमान ‘प्रचण्ड गर्मी’का समय कसरी थेग्नु हुन्छ, कामरेड ?