काठमाडौं । ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने नारासाथ सुरु भएको बाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता पूरा भएको छ । बाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता पूरा भएको अवसरमा शनिबार विशेष कार्यक्रम गरिँदै छ ।
विशेष कार्यक्रमका लागि शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको अध्यक्षतामा उपत्यकाका सबै नगरपालिकाका प्रमुख सदस्य रहेको १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । अहिले उपत्यकाका विभिन्न स्थानका साथै उपत्यकाबाहिर समेत गरी १०२ स्थानमा नदी एवं नगर सफाइका कार्यक्रम भइरहेका छन् ।
२०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए । रेग्मी नेतृत्वको सरकार संविधान सभाको चुनाव गराउनका लागि गठन भएको थियो । सुरुवाती चरणदेखि नै तत्कालीन मुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गरेका थिए ।
सुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २००औँ हप्तासम्म सुन्दरीजलबाट चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी गरिएको थियो ।
यस अवधिमा करिब १८ हजार मेट्रिक टन फोहर उठाई सकिएकोे छ । यो कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए । अब यो अभियान देशभरका ७५३ वटै स्थानीय तहमा फैलिने बताइएको छ ।