काठमाडौं । निजामती सेवा विधेयकमा कर्मचारीले सेवा अवधिभर एक पटकमात्र आरक्षण सुविधा पाउने प्रस्ताव गरिएको छ । संघीय निजामती सेवा विधेयकमा यस्तो प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । वृहद छलफलपछि अहिले एक पटक मात्र दिने भनेर प्रस्ताव गरको उनले बताएका छन् ।

सरकारी सेवामा अहिले महिला, आदिवासी जनजाती, दलित, मधेसी, पिछडिएको क्षेत्र, मुस्लिम, थारु, खस आर्य, अपांगता भएका व्यक्तिहरुलाई आरक्षण सुविधा छ । यो व्यवस्थाअनुसार कुनै व्यक्ति आदिवासी जनजाती पनि हो र अपांग पनि छ भने उसले दुवै कोटामा लड्न पाउँछ । साथै आरक्षण कोटाबाट सुब्बाको जागिर खाएको कुनै व्यक्ति अधिकृत, उपसचिव हुँदै सहसचिवसम्म पनि आरक्षण पाउँछ ।

तर, संघीय निजामती सेवा विधेयकमा एउटा व्यक्तिले सेवा अवधिभर एकपटक मात्र आरक्षण सुविधा पाउने प्रस्ताव गरिएको हो । यो व्यवस्था प्रचलित कानुन बमोजिम कुनै समूहको लागि छुट्याइएको पदको लागि प्रतिस्पर्धा गरी सिफारिस हुने कर्मचारीको हकमा पनि लागू हुनेछ ।

यसैगरी, एउटै व्यक्तिले एकभन्दा बढी समूहमा प्रतिस्पर्धा गर्न पाउने रहेछ भने उसले त्यस्ता समूहहरुमध्येबाट रोजेको कुनै एउटा समूहबाट मात्रै सुविधा लिन पाउने व्यवस्था पनि गरिएको छ ।