काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी तथा सांगठनिक एकता टुंग्याउन गठित कार्यदलले थप समय मागेको छ ।
हालै बसेको सचिवालय बैठकले प्रतिवेदन बुझाउन निर्देशन दिएपछि कार्यदल छलफलमा जुटेको थियो । संयोजक रामबहादुर थापा बादल र पार्टी महासचिव विष्णु पौडेल जेजति सहमति जुटेको छ, त्यसको प्रतिवेदन बुझाएर कार्यदललाई भंग गर्ने तयारीमा थिए । तर, बहुमत सदस्यले अस्वीकार गरेका छन् ।
स्थायी कमिटीमा फरक प्रतिवेदन नै पेश गर्ने चेतावनी दिएपछि दुबै नेता हच्किएका छन् । शुक्रबारको बैठकमा नेताहरुले कार्यललाई असफल बनाउनु भनेको सिंगो पार्टीलाई असफल बनाउनु हो र यसले कार्यकर्ताको मनोबल झन गिर्छ, भने ।
साथै आफूहरुले फरक प्रतिवेदन पेश गर्नुपर्ने अवस्था आए सचिवालय मात्र होइन, स्थायी, केन्द्रीय कमिटी हुँदै सिंगो पार्टीमा ध्रुविकरण हुने निष्कर्ष उनीहरुले निकालेका छन् । कार्यदललाई विघटन नगर्ने सर्तमा अहिलेसम्म भएका कामबारे प्रतिवेदन बुझाउन भने सकिने नेताहरुले बताएका छन् । सहमतिअनुसार प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मा संयोजक वादल र सदस्य बेदुराम भुसाललाई दिइएको छ । तर, केही सदस्यहरु ‘वादल’ कार्यदलले पनि लय गुमाइसकेको भन्छन् । उनीहरुको अनुसार ‘वादल’ कार्यदल पनि खरी झरेको मादल भइसकेको छ, उपल्लो तहले पत्याउँदैन । हेपिरहेको छ ।