एजेन्सी । ह्वाइट हाउसकी सल्लाहकार तथा ट्रम्पकी निकट सहयोगी केल्यान कन्वेले आफ्नो छोरीकै सामुन्ने एक महिलाले दुर्व्यवहार गरेको बताएकी छन्।

उक्त घटना वाशिंगटन डिसीको बाहिरी भागमा रहेको एक रेस्टुराँमा गत अक्टोबरमा भएको अमेरिकी सञ्चारमाध्यमहरूलाई कन्वेले बताएकी थिइन् । कन्वेले भनिन्, ‘ती महिलाले उनलाई पछाडिबाट समातेर झक्झक्याउँदै बेस्सरी चिच्च्याएकी थिइन्।’

६३ वर्षीय मेरी एलिजाबेथ इनाबिनेटले भने त्यस्तो हमला गरेको अस्वीकार गेकी छन्। मार्च महिनामा उनी त्यससम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुँदैछिन्।

‘ती महिला नियन्त्रणभन्दा बाहिर थिइन्। उनले गरेको व्यवहार म वर्णन गर्न पनि सक्दिन। उनको पूरै अनुहारमा मैले क्रोध र आतंक देखेँ’, सीएनएनसँगको कुराकानीमा कन्वेले भनिन् । तत्कालै आपतकालीन सेवा प्रदायकहरूलाई फोन गरेको तर प्रहरी आइपुगुञ्जेल ती महिला मेक्सिकन रेस्टुराँबाट हिँडिसकेको कन्वेले बताइन्।

तर इनाबिनेटकी वकिलले एक विज्ञप्ति जारी गर्दै उनले कन्वेलाई हमला नगरेको बरु संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता उपभोग गरेको जनाएका छन्। अदालतमा उनले आफू निर्दोष भएको जिकिर गर्ते ती वकिलले बताए।

ट्रम्पका अधिकारीहरूमाथि यो हमला पहिलो भने हैन । जुन १९ मा होमल्याण्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुराँमा नै केही अभियानकर्मीहरूले हातपात गरेका थिए ।