काठमाडौँ । विभिन्न विद्यालयलाई देशव्यापी रुपमा पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउँदै आएको शिक्षा नेपालले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रिय पठन मेलाको आयोजना गरेको छ । नेपाल पढ्दै छ’ भन्ने मूलनाराका साथ नेपालले पठन मेलाको आयोजना गरेको हो । नेपालमा सरकारले पुस्तकालयको अवधारणा अघि सारे पनि त्यसको उचित व्यवस्थापन हुन नसकेकाले पुस्तकालयको विकास र विस्तारका लागि संस्थाको गठन गरिएको संस्थाका संस्थापक प्रेमबहादुर बोहोराले जानकारी दिए ।

“नेपालमा पुस्तकालयको स्थापनाका लागि सरकारले रकम र कर्मचारीको व्यवस्था त गरेको छ, तर पुस्तकालयको पहुँच आम जनतामाझ पुग्न सकेको छैन”, बोहोराले भने । देशभर पुस्तकालयको व्यवस्था गर्नका लागि आफ्नो संस्थाले विभिन्न स्वयमसेवकलाई परिचालन गरेको उनले जानकारी दिए ।

उक्त अवसरमा द एशिया फाउण्डेशनका प्रोगाम म्यानेजर समिरा श्रेष्ठले फाउण्डेशनले नेपालभित्र दुई सयभन्दा बढी पुस्तकलाई इ–बुकका रुपमा राखेको जानकारी दिए । “फाउण्डेशनले नेपाली पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वका विभिन्न देशमा पुरयाउन सफल भएको छ ।”, श्रेष्ठले भने । पठन मेलाका अवसरमा फाउण्डेशनले शिक्षा नेपाललाई २५० वटाभन्दा बढी पुस्तक प्रदान गरेको थियो ।

विश्व बालबालिका पुरस्कार २०१४ बाट सम्मानित सामाजिक अभियन्ता इन्दिरा रानामगरले भनिन्, ‘पढ्ने मान्छेलाई पुस्तक आवश्यक पर्दैन ।’