हेटौँडा । प्रदेश नम्बर ३ लाई वातावरणीय दृष्टिकोणबाट स्वच्छ बनाउने अभियानअन्तर्गत प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनमा जोड दिइएको छ । शनिबार आयोजित छलफल कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले स्वच्छ र हराभरा प्रदेश निर्माण गर्नको लागि प्लाष्टिकको व्यवस्थापन आवश्यक रहेको बताए ।

प्लाष्टिक व्यवस्थित प्रदेश निर्माण गर्न र प्लाष्टिक पुनः प्रशोधन गर्ने उद्योग सञ्चालन गर्न सरकार, उद्योगी र विज्ञले संयुक्तरुपमा लानुपर्ने आवश्यकतामा नेपालको जोड थियो । जथाभावी एवं मापदण्ड विपरीत उत्पादित प्लाष्टिकजन्य पदार्थको कारण वातावरणमा प्रदूषण भएको उनको तर्क थियो ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले पुनः प्रयोग गरेर विभिन्न सामान बनाउँदा प्रशोधन खर्च धेरै लाग्ने भएकाले प्लाष्टिक व्यवस्थापन गर्ने कार्यमा सरकारले विद्युत्, बैंकको ब्याज र कच्चा पदार्थ खरीदमा सहुलियत दिनुपर्ने माग गरेका थियो ।