काठमाडौँ । वाग्मती सरसफाइ महाअभियानको तीन सय हप्ता पुरा भएकाे छ ।  महाअभियानको तीन सय हप्ता पुरा भएकाे अवसरमा शनिबार बिहान बागमती नदि किनारछेउ शङ्खमूलमा विशेष कार्यक्रम गरिएकाे छ ।

शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी लगायत सहभागि भए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पहिलेको जस्तै वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताए । उनले वाग्मती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्नेमा जोड दिए । ‘‘वाग्मतीको मुहानमा वर्षातको समयमा पानी सङ्कलन गरेर पानीको बहाव बढाउनुपर्दछ’’उनले भने,‘‘जुन बहावले वाग्मतीमा भएको फोहरमैलालाई बगाएर लैजान सकोस् ।’’

कार्यक्रममा वन तथा वातावरणमन्त्री बस्नेतले वाग्मती सरसफाइ अभियानले मुलुकभरी नै सरसफाइ गर्नुपर्दछ भनेर प्रेरणा दिएको बताए । उनले वाग्मती सरसफाइ गर्नका लागि सरकारले स्पष्ट रणनीति ल्याउने तयारी गरिरहेको उल्लेख गरे ।

शहरी विकासमन्त्री राईले चारसय हप्ता नपुग्दै वाग्मतीको सरसफाइ गरिसक्नुपर्ने बताए । उनले सरकारको सहभागिताले मात्र नभइ समुदायको सहभागिताले मात्र सरसफाइ हुने भन्दै यसअभियानमा लाग्न सबैलाई आग्रह पनि गरे । खानेपानी तथा सरसफाइमन्त्री मगरले अभियानले वाग्मती सरसफाइमात्र नगरेर सिङ्गो देशलाई नै सरसफाइ अभियानमा लाग्न सिकाएको बताइन् ।

‘‘यस अभियानले राष्ट्र र जनतालाई सरसफाइ गर्न सिकाएको छ’’ उनले भनिन्,‘‘यो वाग्मती सरसफाइ गर्ने अभियान मात्र नभएर राष्ट्र सरसफाइ गर्ने अभियान हो ।’’ उनले अब वाग्मतीमा मिसिइने ढल प्रशोधन गरेर मात्र मिसिने व्यवस्था गर्न थालिएको बताइन् । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले यस अभियान वाग्मती नदीमा मात्र सीमित नरहेर अन्य नदीमासमेत सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई दिएकाले सबै स्थानीय तहमा नदी सरसफाइ शुरु हुने बताए ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सम्पदा एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरे र वाग्मती सरसफाइ अभियन्ता डा राजु अधिकारीले सरकार र समुदायको सहभागिताले सफलता प्राप्त गरेको बताए ।

‘स्वच्छता मेरो पहिचानः सफाइ मेरो योगदान’ भन्ने महाअभियानमा क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वाग्मती करिडोरमा बनेका ४४० वटा सोलार बत्तीको उद्घाटन गरे ।  २०७० साल जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए ।

वाग्मती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएकोे छ । याे कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए ।