विराटनगर । हरित र समृद्धि नेपाल निर्माणको कामनासहित सुनसरीको बहराक्षेत्र धाममा नेपालमै पहिलोपटक श्रीराम तारक ब्रम्ह महायज्ञ हुँदैछ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजना गर्न लागिएको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

महायज्ञ आयोजनास्थल बराहक्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा सिद्धबाबा डा. कृष्णदासजी महाराजले ७ सय ५ वर्षअघि भारतमा यस्तो महायज्ञ भएको बताए । आर्थिक रुपमा भारतमा ठूला महायज्ञ भएपनि विज्ञानसम्बत र अनुष्ठानात्मक हिसाबले यसलाई बृहत रुप दिन सकिने उनको भनाई छ ।

महायज्ञमा आउने भक्तजनका लागि लागि साढे ८ करोडको लागतमा १३२ कोठे तीनवटा भवन धमाधम निर्माण भइरहेको छ । उनले महायज्ञले धार्मिक पर्यटनमा महत्वपूर्ण भूमिका योगदान गर्ने जानकारी दिए ।

नेपालको इतिहासमै पहिलोपटक १२ सय साधनहरुद्वारा तारकब्रम्ह मन्त्रराजको १ अर्ब ६० करोड जपसमेत गरिने बताइएको छ । १६ करोड हवनसमेत गरिने आयोजक समितिका उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । ९ तले मण्डवभित्र १ सय ८ वटा हवनकुण्डसमेत निर्माण गरिएको छ ।

३५ हजार किलो जौ, १५ हजार किलो जडीबुटी, १० हजार किलो शुद्ध गाईको घ्यू, १० हजार किलो चिनी, ६० हजार किलो तिललगायत हवन गरिनेछ । मण्डवभित्रै ९ प्रकारका हवनवेदी निर्माण गरिएको छ। महायज्ञमा १ लाखभन्दा बढी भक्तजनहरु आउनेछन्। यस महायज्ञ पूर्णाहुतिसहित फागुन ७ गते समापन हुनेछ ।