सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालयमा भएको झडपमा तीन प्रहरी र एक जना स्थानीय घाइते भएका हुन् ।

झडपमा परी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका छन् । यस्तै प्रहरीले चलाएको गोली लागेर मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन् । उनको दाहिने पातामा गोली लागेको छ । प्रहरी र स्थानीयबीचको झडपलाई रोक्न प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक सिंहले बताए ।

घाइते मोक्तानको कपिलाकोटस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलीखेल पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

माघ २४ गते मरिण गाउँपालिका–६ धमिलेमा बस्ने श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार त्यही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए । शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले शुक्रबार नियन्त्रणमा लिएको थियो । त्यो घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले जानकारी दिए ।