एजेन्सी । राजनीतिक संकट उत्कर्षमा पुगेको दक्षिण अमेरिकी देश भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुवाइडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् ।

राष्ट्रपति निकोलस मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुवाइडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा छ ।

गुवाइडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए । अमेरिकाले गुवाइडोको आग्रह अनुसार मानवीय सहायता सामग्री पठायो । तर, राष्ट्रपति मादुरोले मानवीय सहायता आफ्नो देशमा हस्तक्षेप गर्ने अमेरिकी बहाना र रणनीति रहेको भन्दै अस्वीकार गरेका छन् ।

सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेका छन् । जसले अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएको छ ।