काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावर कम्पनीको धरौटी फेरबदल गरिएको छ । यसअघि सरकारले ५ हजारभन्दा बढी पठाउने म्यानपावरको ६ करोड र त्यो भन्दा कम पठाउनेलाई ३ करोड धरौटी राख्नु पर्ने भन्दै संसदमा विधेयक दर्ता गरेको थियो ।
संसदको कानून तथा मानवअधिकार समितिको बैठकले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम परिवर्तन गरेर पेश गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र डेढ करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको हो ।
यस्तै, वर्षदिन भरी एक सय जना पनि कानमदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि सय जना कामदार पठाउन नसके म्यानपावर नै खारेज गर्ने व्यवस्था राखिएको छ । एकै घरका परिवारले एक भन्दा बढी म्यानपावर कम्पनी खोल्न नपाउने र खोलिसकेको भए ६ महिनाभित्रमा एउटैमा गाभ्न समय दिने निर्णय पनि संसदीय समितिले गरेको छ ।
समितिले यो विधेयक संसदमा पेश गर्ने निर्णय समेत गरिसकेको छ । यसअघि सबै म्यानपावर कम्पनीको धरौटी ७ लाख रुपैयाँ नगद र २३ लाख बराबरको बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था थियो ।
सम्बन्धित केही विवरण
पोहोर ४ सय १३ म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि सयभन्दा कम कामदार पठाए । यो विधेयक संघीय संसद्बाट हुबहु पारित भए सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी स्वतः खारेज हुनेछन् । वैदेशिक रोजगार विभागमा १ हजार २ सय १५ म्यानपावर कम्पनी दर्ता भएका छन् ।
यी मध्ये २९ वटा सञ्चालनमा छैनन्न् । ८ कम्पनीले एक र ७ वटाले २ जना मात्र वैदेशिक रोजगारीमा पठाएका छन् । ३ देखि १० जना मात्र कामदार पठाउनेमा ६० म्यानपावर छन् । ११ देखि ५० जना पठाउनेको संख्या १ सय ८२ छ । २ हजारभन्दा बढी मान्छे पठाउने म्यानपावरको संख्या १५ छ ।
कम्पनीहरूको क्षमताअनुसार ३ खालका धरौटी सीमा तोकिएको छ । ३ हजारसम्म कामदार पठाउने कम्पनीको ५० लाख रुपैयाँ धरौटी र डेढ करोड बैंक ग्यारेन्टी आवश्यक पर्छ । ३ देखि ५ हजारसम्म कामदार पठाउनेको एक करोड रुपैयाँ धरौटी र ३ करोड बैंक ग्यारेन्टी हुनुपर्नेछ । त्यस्तै ५ हजारभन्दा बढी पठाउनेको २ करोड धरौटी र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान छ । म्यानपावर कम्पनीले हाल ७ लाख रुपैयाँ धरौटी र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टी गर्नुपर्ने व्यवस्था राखिएको छ ।