काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण पश्चिमका अधिकांश क्षेत्रको मौसम बदली भएको जनाएको छ ।

उत्तर–पश्चिमी भारत हुँदै नेपालको पश्चिमी क्षेत्रबाट मौसमी प्रणाली आएकाले पश्चिमका तराई तथा पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको मौसमविद सुवास रिमालले बताएका छन् । पश्चिम पहाडका केही ठाउँमा दिउँसो छिटफुट पानी पर्ने सम्भावना छ ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको र दिनभरि घाम लाग्ने र बदली हुने क्रम जारी रहने मौसमविद रिमालले जानकारी दिए । तराई क्षेत्रको मौसम भने सफा रहने छ, भने पूर्वी, पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ ।